घलेम्दी हाइड्रोपावरलाई १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ खुला गर्न अनुमति

घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।घलेम्दीले यसअघि असार २२ देखि साउन २२ गतेसम्म स्थानीयका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमा ९४ हजार २३० कित्तामा मात्र आवेदन परेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।यसमा भिबोर क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत ९४ करोड रुपैयाँ अनुमान गरिएको छ । ३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा करिब एक अर्व १५ करोड वरावर लागत लाग्ने अनुमान गरिएको छ । भूकम्प र नाकबन्दीका कारण समयमै आयोजना सम्पन्न हुननसक्दा लागत वढेको अध्यक्ष किशोर सुबेदीले बताए ।
आयोजनाले १६ करोड पचास लाख रुपियाँ वरावरको शेयर प्रभावितहरुलाई वितरण गरिसकेको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।