म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा बालाचर्तुदशी पर्वको अघिल्लो दिन अर्थात आज दिवंगत पितृका नाममा दीपदान गरिने कोषले जनाएको छ । ठाउँठाउँबाट भजनकृतनसंंगै आएका भक्तजनहरुले बुधबार दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष रुद्ध बहादुर केसीले एकदशक अगाडी जस्तै अघिल्लो दिनमा दिपदान गर्नेको संख्या कम भएपनि ग्रामिण क्षेत्रबाट फाटफुट आउने गरेको बताए । ‘मन्दिरमा आउने भक्तजनलाई आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको छ,‘पर्वको दिन भक्तजनको भीड लाग्छ’ अध्यक्ष केसीले बेनीअनलाइनलाई भने । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्गको दर्शन गरी दिपदान गर्ने धार्मिक परम्परा रहेको छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति जिल्लाका ग्रामिण क्षेत्रका साथै पर्वत र बागलुङबाट आएका भक्तजनले मुल मन्दिरको आसपासका क्षेत्रमा बसेर दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गरेको कोषका उपाध्यक्ष एवम् पन्डित भिमनाथ पराजुलीले बताए । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गर्ने गरिएकोमा त्यसमध्ये एक गलेश्वर समेत भएको उनले बताए । भगबान शिवजीका ८८ वटा अवतार मध्ये बाल अवतारको अवसरमा गलेश्वरधाममा सतबिज छर्ने प्रचलन रही आएको छ ।

कालिगण्डकी नदीमा नुहाई सतबिज छर्ने धार्मिक चलन रहेको उनले बताए ।सतबिजमा कोदो बाहेक धान,गहुँ ,मकै ,जौ ,केरा,सुन्तला लगायतका अन्न तथा फलफलु छर्ने गरिन्छ । विभिन्न सय थरी बिउहरुलाई छर्ने भएकाले सतबिज नामाकरण गरिनुका साथै राजा भरतले ४ धाम मध्ये गलेश्वरमा तपस्या पुरा गरेको किम्वतन्ती रहेको पाईन्छ । विषेशगरी बालाचर्तुदर्शीको अवसरमा शिब मन्दीर परीसरमा सतबिज छर्नाले संसारमा भोकमरी नहुने र खेतीपातीको राम्रो संरक्षण हुने जनविश्वास रहेको पण्डित भिमनाथ पराजुलीले बताए । ‘शतबीजारोपणले पितृको उद्धार हुन्छ, अघिल्लो दिन शिवालयमा दीप प्रज्वलन गरिन्छ’ पराजुलीले भने ।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचतुर्दशीलाई विषेश गरी सनातन हिन्दू धर्म अन्र्तरगतको विशिष्ट महत्वको मान्ने गरिन्छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।