घर नजिकै ढुंगाको अग्लो पर्खालमा सानो बारी बनाएर आसपासमा खेर गएको जमिनबाट माटो लिएर परिक्षण खेती गरेका चन्द्र बहादुर कार्कीले बारीबाटै साग बेचेका छन् ।

समान्य माटो र मलको प्रयोग गरी गरेको तरकारी खेती सफल भएपछि थप खाली जमिनमा समेत विस्तार गरेका छन् । २०३४ सालमा १८ बर्षको उमेरमा बेनीस्थित प्रकाश माविबाट एसएसली उत्र्तिणा गरेपछि चन्द्र बहादुर कार्कीका सहकर्मीहरू सरकारी जागिरको खोजीमा जिल्ला बाहिर गएपनि माध्यामिक तहमा कृषि जेटिएको कक्षा समेत लिने अवसर पाएका कार्कीले घरमै एक हजारको लगानीमा सुरु गरेको ब्यवसायीक तरकारी खेतीमा उनले गरेको हरेक परिक्षण खेती सफल भएको छ ।

म्याग्दीको सदरमुकाम बेनी नजिक रहेको साविकको ज्यामरुककोट गाबिस हाल बेनी नगरपालिका–२ खबरामा एक हजारमा बिउ लगाएतमा सामानहरु खरिद गरी काउली–बन्दा,गोलभेडा,आलु, साग,लसुन–प्याज र केराखेती सुरू गरेका कार्कीले निकै मेहनत गरी छिमेकी जिल्ला बागलुङमा ८ सय रुपैयाँमा तरकारी विक्री गरी मध्यरातमा घर फर्किएपछि अन्य कुनैपनि विकल्पमा उनको ध्यान गएन् । सरकारी जागीर, बैदेशिक रोजगार, भारतीय सेनामा भर्ती हुन अनुरोध गर्नेहरूलाई कहिल्यै जागीर नखाने भन्दै जवाफ फर्काउने गरेका कार्कीले अहिले तरकारी, फलफुल, दुध विक्रीबाट बार्षिक १५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

‘मैले मासिक १ लाख सजिलै आम्दानी गर्छु ।सिजनमा दुईलाख सम्म हुन्छ’ कार्कीले भने ।तरकारी खेतीमा आवश्यक पर्ने उपकरण, बिउ खरिद, ढुवानी लगाएतको खर्च कटाएर १० लाखभन्दा धेरै बचत हुने गरेको उनले बताए । संगै पढेका साथीहरू कृषि बैज्ञानिक, बरिष्ठ कृषि विकास अधिकृत सहित सरकारी जागिरमा माथिल्लोस्तरसम्म पुगेको बताउँदै आफुँले जागिर नखाने घोषणा गरेर घरमा रहेको खेतबारीलाई दैनिक आम्दानी हुने माध्यम बनाएको बताए । ‘सरकारी जागिर खाएका साथीहरू पनि मेरो प्रगतिबाट दंग परेका छन्। उनीहरूको कुरा सुन्दा कृषि पेशामा लाग्ने निर्णय गरेर राम्रो गरेछु जस्तो लाग्छ’ उनले भने ।

२० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणाली सुरू गर्ने जिल्लाकै नमुना कृषकको रुपमा समेत चिनिएका कार्कीले खेतवारीमा वाह्रैमास आलु,बन्दा,काउली,गोलभेडा,साग,ब्रोकाउली,धनियाँ,लसुन,प्याज, खुर्सानी लगाएतका तरकारी र केरा,सुन्तला,कागती,अम्बा लगाएतका फलफूलहरू लहलह झुलीरहेका र लटरम्म फलिरहेका देखिन्छन् ।

गोठमा भौसी,बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले सोचेजस्तै आम्दानी गरिरहेका छन् । ‘तरकारी खेतीबाटै बेनीमा घर बनाए । खडेरी पनि जोडेको छु’ कार्कीले भने । तरकारी खेतीबाट मैले कमाएको सम्पत्ती भन्दा पनि ठुलो आत्मसन्तुष्टि हो‘ कार्कीले आफ्नो विगतका दिनलाई सम्झिएर भने । उनले अहिले व्यवसायिक तरकारी खेतीबाट घर र बेनीबजारमा १ करोडभन्दा बढी सम्पत्तीको मालिक भएको बताउँदै आफ्नो पेशालाई निरन्तरता दिन छोरालाई पनि सक्रिय बनाएको बताए । उनले विगतमा बजारको खोजीमा जानुपर्ने अवस्थामा पछिल्लो समय घरबाटै विक्री हुने गरेको बताए । सदरमुकाम बेनीबाट सडक सञ्जालले जोडिएपछि कार्कीले घरबाटै करिव १ लाखको तरकारी बेच्ने गरेका छन् ।

‘गाउँमा विदेश जान पासर्पोट नकाट्ने मेरो छोरा मात्रै होला ।मेरो मेहनतले उसले पनि अमेरिका पनि आफ्नै खेतबारी सम्झिन्छ’ कार्कीले छोरालाई देखाउँदै भने । तरकारी विक्रिबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महङ्गो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसकेका छन् ।त्यसै गरी पर्वत बेनीमा समेत घडेरी छ । गाउँमा र बेनीको मंगलाघाटमा गरी दुईवटा पसल समेत संचालन समेत गरेका कार्कीले दैनिकआग्र्यानिक कृषि उपज,फलफूल र तरकारीका विरुवा (बेर्ना) विक्री गर्ने गरेका छन् । अर्गानिक तरकारीको उत्पादन गर्ने भएकाले पनि कार्कीको दुवै पसलमा खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्दछ । ‘माटोसंग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’ कार्कीले भने ।

म्याग्दी खोलाबाट २ सय ५० मिटर उचाईमा अवस्थित खवरामा लिफ्ट सिँचाईको प्रविधि प्रयोग गरी पानी लगिएपछि कार्कीले आगामी बर्ष दोब्वर आम्दानी गर्ने बताएका छन् । उनले सरकारी जागिरबाट अवकाश लिएपछि र विदेशबाट फर्किएपछि अलमलमा परेका स्थानीयहरूलाई समेत तरकारी खेती सुरु गर्न सुझाव दिएका छन् । सरकारी अनुदान संगै कृषि पेशाबाट भएको आम्दानीले समेत उपकरण सहितका पुर्वाधार विस्तारमा खर्च गर्ने गरेका कार्की जिल्लाकै तरकारी खेतीमा नमुना कृषकको रुपमा समेत सम्मानित भइसकेका छन् ।

उनले तरकारी र केरा खेतीका लागि उपयुक्त माटो भएकाले पनि अन्य अन्नबाली विस्तार हटाउँदै गएको बताए । घर र खेतवारी कृषिको प्रयोगशाला जस्तो देखिने हङकङबाट घर विदामा आएका दल शेरपुञ्जाले बताए । ‘उहाँले गरेको काम सिके मात्रै धेरै यूवाहरू विदेश जानुपदैन्, गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ’ शेरपुञ्जाले भने । कार्कीको सीपलाई गाउँका साथै जिल्लाका अन्य क्षेत्रमा समेत प्रयोग गर्न सकेमा गाउँमै प्रसस्तै आम्दानी गर्न सकिने बताए । सधैभरी तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी,तरकारी खेती र केरावारी हेर्नका लागि लभलिहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत कार्कीको घरमा पुग्ने गरेका छन् ।

विगतमा गाउँको माथिल्लो क्षेत्रबाट आउने पानीको मुहान सुकेपछि सिँचाईमा देखिएको समस्या समाधान भएपछि गाउँका सबैजसो खेतबारीमा तरकारी खेती गर्न सहज भएकाले पनि खरिदकर्ताले नियमित माग गर्ने गरेका छन् । पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा लभ्लीहिलको चर्चा हुन थालेपछि गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरु निर्माण गरिएपछि घुम्न जानेलाई तरकारी, फलफुल विक्री समेत गर्ने गरेका छन् । त्यस्तै मर्निङ वाकमा जानेहरुले समेत बारीमै पु्गेर तरकारी खरिद गर्ने गरेका छन् । घर नजिकै रहेको बाझाँे जमिनमा बालबालिकालाई पौडी खेल्न मिल्ने पोखरी नजिक ढुंगामाथि माटो र अर्गानिक मल हालेर तरकारी खेती समेत गरेका छन् । त्यसबाट केहीमहिना यता उनको आम्दानी मासिक २५ हजारभन्दा धेरै थप भएको उनले बताए ।