मल्लाजमा महिला सहकारीद्धारा विना धितो एक करोड लगानी

0

जलजला गाउँपालिकाको मल्लाजमा महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाले बिना धितो एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । वि.स २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा अण सहकारी संस्थाले आर्थिक रुपमा विपन्न महिलाहरुको आयआर्जनतर्फ अग्रसर बनाउन सामुहिक जमानीको आधारमा लगानी गरेको हो । सहकारीको शनिबार भएको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनमा कोषाध्यक्ष ज्योती मल्लले सेयर सदस्यहरुलाई विभिन्न उद्यम व्यवसायका लागि गत आर्थिक वर्षमा एक करोड छ लाख २४ हजार ८६५ रुपैयाँ लगानी गरिएको जानकारी दिनुभयो ।

सहकारी अन्तरगत जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूह मार्फत ७०१ ज्ना सेयर सदस्य आवद्ध भएका छन् । तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैसी पालन, पसल, ब्यापार लगायतका कामका लागि एक पटकमा पचास हजार रुपैयाँ सम्म लगानी गरिएको प्रबन्धक कमला जिसीले बताउनुभयो ।३१ जना महिलाहरुले मासिक बीस रुपैयाँका दरले बचत गरेर सहकारी सूरु गरेका थिए ।

अहिले मासिक दुई सय रुपैयाँका दरले बचत गर्दै आएका छन् । सहकारीमा आवद्ध भएपछि दुई चार सय रुपैयाँ आवश्यक पर्दा श्रीमान तथा घरपरिवारका सदस्यको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको महिलाहरुले बताएका छन् । बचत गर्ने बानीको विकास र फजुल खर्च नियन्त्रण भएको छ । ६३ लाख रुपैयाँ सेयर पुजीँ रहेको सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९२ हजार १३७ रुपैयाँ खुद मुनाफा गरेको अध्यक्ष शान्ता लामिछानेले बताउनुभयो । उहाँका अनुसार साधारणसभाले १८ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।

साधारणसभामा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले महिलाहरुको शक्तिकरण र आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी मार्फत महिलाहरुको आयआर्जन वृद्धीका कार्यक्रम सञ्चालन गर्न सकिने र भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मल्लाज बहुउद्देश्यिय सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले सहकारीले सामाजिक रुपान्तरणको अभियानको पनि नेतृत्व लिनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी जिसी, सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष रिता बिक, साना किसान सहकारीका अध्यक्ष हेमकुमारी अधिकारी, प्रबन्धक सनिता कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष शान्ता लामिछानेको अध्यक्षता, सहसचिव सिता सुवेदीको सञ्चालन र उपाध्यक्ष मिना खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी मल्लले आर्थिक र शिक्षा उपसमिति संयोजक निर्मला कुवँरले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट समूह र सहयोगी संघ संस्था तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सन्तोष गौतम