बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशनमा पराजय भएका अध्यक्ष पदका उम्मेदवार दयाराम पौडेलले सबैको मन जितेका छन् । चुनावमा ७५ मतान्तरले पराजय भोगे पनि उनले बागलुङका उद्योगी व्यवसायीदेखि बुद्धिजिवीहरुको मन पनि जित्न सफल भएको देखिन्छ ।

निर्वाचनमा खसेको कुल १ हजार १ सय ३३ मतमा उनका निकटम प्रतिद्वन्द्वी युवराज राजभण्डारीले ५ सय ९४ मत ल्याएर विजयी भएका हुन् । दयारामले भने ५ सय १९ मत प्राप्त गरेका थिए । चुनावमा भएको पराजयलाई स्वीकार गर्दै दयाराम पौडेलले विजेता युवराज राजभण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले अंकमाल गर्दै बधाई तथा शुभेच्छा प्रकट गरेका हुन् ।

‘निर्वाचन परिणाम हामी सबैले स्वीकार गर्नुपर्छ, मेरा सहकर्मी मित्र युवराज राजभण्डारीले सबैको मन जितेर काम गर्ने मैले विश्वास लिएको छु । मलाई विश्वास गरेर म लगायत मेरो प्यानललाई मतदान गर्ने सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आज म सम्झन चाहान्छु र हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ।’ उनले भने ।

उनले सम्पूर्ण निर्वाचित उम्मेदवारहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले लोकप्रिय मत समेत पाएका छन् । राजभण्डारी प्यानलका शुभचिन्तकले मतगणनामा देखिएको भन्दा बढी मतान्तरले जित्ने दावी गरेका थिए । यस्तो दावी र भविष्यवाणिलाई समेत उनको लोकप्रियताले गलत सावित गरिदिएको देखिन्छ ।मत परिणामले दयारामले के प्रमाणित गरे भने उनी सशक्त र लोकप्रिय उम्मेदवार हुन ।

दुवै पक्षले प्यानल बनाएर निर्वाचनमा गएको अवस्थामा पौडेलले आफ्नो प्यानल बाहिरका तथा मध्यमार्गी मतदाताको समेत मन जितेको देखिएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि देखिएको सालिनताले उनको उचाई थप बढाएको छ ।

फोटो: मञ्जुल शाक्य