पर्वत बेनीमा अवस्थित न्यू होराइजन आवाशीय माध्यामिक बिद्यालयमा आइतबारदेखि खेलकुद सप्ताह सुरू भएको छ । शैक्षिक गतिविधिसंगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापलाई समेत अगाडी बढाएको विद्यालयमा सुरु भएको सप्ताहको जलजला गाउँपालिका शिक्षा संयोजक गोविन्द खत्रीले उद्घाटन गदैं खेलकुद गतिविधिले विद्यार्थीको शारररीक तथा मानसिक रुपमा समेत स्वस्थ्य बनाउने बताए ।

उनले आन्तरिक तथा अन्तर विद्यालयस्तरका प्रतियोगिताले खेलकुद प्रतिभालाई समेत उजागर गर्न भएकाले समयसमयमा प्रतियोगितात्मक क्रियाकलापलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा विशिष्ट अतिथि विद्याज्योती मावि स्रोतकेन्द्र स्रोतब्यक्ति शुभन्तनाथ सुबेदी, खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, विद्याज्योती माविका प्रधानध्यापक रघुनाथ आचार्य लगाएतले मन्तब्य राखेका थिए ।

सप्ताहको उद्घाटन सत्रको अवसरमा विभिन्न सांगितिक प्रस्तुती, विभिन्न खेलकुद गतिविधि समेत सञ्चालन गरिएको थियो । अभिभावक तथा विद्यार्थीका खेलकुद गतिविधि समेत सुरु भएको विद्यालयले जनाएको छ। उद्घाटन सत्रको अध्यक्षता विद्यालयका अध्यक्ष दलबहादुर् जिसी, स्वागत प्लस टु संयोजक नारायण पौडेल र सञ्चालन सहायक प्रधानध्यापक अर्जुन पौडेलले गरेका थिए ।

खेलकुद सप्ताहको अवसरमा विभिन्न खेलकुद गतिविधिका साथै अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिता समेत हुनेछ । म्याग्दीको सदरमुकाम बेनीसंगै जोडिएको पर्वतबेनीका खेलकुद गतिविधिमा म्याग्दीका विद्यालयको सहभागिता रहने गरेको छ । प्रतियोगितामा प्रथम हुनेले रनिङशिल्ड र नगद १७ हजार दोस्रो हुनेले नगर ९ हजार प्रमाण–पत्र मेडलका साथै अनुशासित, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको ब्यवस्था रहेको छ ।