गैरआवासीय नेपाली संघ (एनआरएनए)ले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा अन्तर्गत पर्ने ठूलो खोलामा ३सय ५४ मिटर हेड भएको मध्यम स्तरको जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। हङकङमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय बैठक र पहिलो महिला भेलाले नेपालभित्र र गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा उर्जा कम्पनी खडा भईसकेको जनाउँदै संसार भरीका गैरआवासीय नेपालीहरुलाई संयुक्त लगानीमा साझेदारी गर्न आव्हान गरेको छ।

त्यस्तै बैठकले गैरआवासीय नेपालीहरुको संयुक्त पहलमा हुने विभिन्न साना तथा मझाैला लगानीहरुलाई प्रोत्साहन गरी भावानात्मक र व्यवसायिक रुपमा प्रवर्धन गर्न र कानुनी सरलता र सहजिकरणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए।वैदेशिक रोजगारबाट विभिन्न ज्ञान,सीप र प्रविधि सिकेर फर्किएका नेपालीहरुलाई आर्थिक सहयोग पुर्याई मुलुकको समृद्धिलाई सहयोग गर्न २० करोडको पुँजीको लगानीमा एनआरएन लघुवित्त संस्था खोल्ने पनि बैठकले निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको संलग्नतामा खडा भएको उज्यालो नेपाल फाउण्डेशन मार्फत देशमा १ करोड पुराना चिम बत्तीलाई आधुनिक एलईडीमा परिवर्तन गरी ३०० मेगावाट किफायत गराउँने परियोजनालाई अगाडि बढाउने निर्णय भएको घिमिरेले बताए।त्यस्तै बैठकले संविधानको धारा २९१ ले कुनै देशको स्थायी बसोबासको अनुमति लिएर बसिरहेका नेपाली नागरिकको मौलिक अधिकारलाई कटौति गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

हङकङ लगायत कतिपय मुलुकमा स्थायी बसोबास अनुमति प्राप्त भएपछि चाहेर पनि परित्याग गर्ने कुनै प्रावधान नभएकोले स्वदेश फिर्ता भएर नेपाली नागरिकका रुपमा मौलिक हकको उपभोग गर्न नपाइने अवस्था भएकोले संविधानको धारा २९१ को खारेजी गर्न नेपालका सबै राजनीतिक दल र संघीय संसदलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका थिए।भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा लगानीको वातावरण भएका भन्दै अवसर सदुपयोग गर्न आग्रह गरेका थिए।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल बनाउने अभियानमा लाग्न सबैसँग आग्रह गरे ।एनआरएनएका पुर्व अध्यक्ष शेष घलेले विदेशीलाई लगानी गर्ने वातावरण बनाउन सरकार गम्भिर हुनु पर्ने बताए। एनआरएनका अध्यक्ष भवन भट्टले एनआरएनएहरुले पछिल्लो समय नेपालमा लगानी बढाएको भन्दै एकजुट भएर त्यसमा लाग्नुपर्ने बताए।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको पनि साझा संगठन हो भने उनीहरुको हितमा एनआरएनएले आवाज उठाउनुपर्ने बताए।एनअारएन हङ्गकङ्गले अायोजनाको जिम्मा पाएको भेलामा १८ देशका झण्डै ३ सयकाे सहभागिता रहेको थियो। एनअारएन हङकङकी अध्यक्ष राधिका गुरुङ्गले भेला सफलता पुर्वक सम्पन्न गर्ने अवसर दिएकाे खुसी ब्यक्त गरिन। setopati.com