म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले पीडित महिला तथा बालबालिकालाई लक्षित गरी स्थापना गरेको अक्षय कोषबाट पहिलो सहयोग तिम्ल्याहा शिशुलाई गरिएको छ । मोना आइसीको १ करोडको अक्षय कोष अभियान अन्तरगत धवलागिरी गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारको तिम्त्ल्याह छोराछोरीलाई २० हजार सहयोग गरिएको अध्यक्ष चक्र बहादुर थापाले बताए ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि गाउँपालिका अध्यक्ष थमसरा पुनमगर मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताए । मोनाकी महिला विभाग प्रमुख आशा पुन मार्फत प्राप्त सहयोगले उपचारमा सहज भएको गाउँपालिका अध्यक्ष पुनले बताईन्।‘आर्थिक अभावले उपचारमा समस्या भएको छ,‘थप सहयोगको अपेक्षा गरेका छौ’ उनले भनिन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएपछि आर्थिक समस्याका बारेमा समाचार प्रकाशित भएलगत्तै सहयोग संकलन सुरु भएपनि थप सहयोग आवश्यकता रहेको पीडित परियारको भनाई छ । जन्मिएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा अर्की छोरीको तौल ८०० ग्राम रहेको थियो ।