आमाले आत्महत्या गरेपछि चार बालबालिकाको बिचल्ली

0
488

विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन्। उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन्। सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई। तर यो यथार्थ थियो। चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले मैया किसानले घरमा कोही नभएको २०७४ चैत १ गते यसरी आत्महत्या गरेकी थिइन्। खाटको छेउमा डेढ वर्षका छोरालाई साक्षी गरेर उनले आफूलाई पासो लगाएकी थिइन्।

जन्मदिने आमाले सधैंका लागि छोडेर गएपछि तथा वैदेशिक रोजगारीमा रहेका बुबासमेत नियमित सम्पर्कमा नआउँदा अहिले उनीहरूका स–साना चार छोराछोरीको बिचल्ली भएको छ। अभिभावकविहीन भएका १४ वर्षीया अस्मिता, ११ वर्षीया सुस्मिता, ४ वर्षीया अमृता र २ वर्षका अमृत अहिले मामा घरमा आश्रय लिएर बसिरहेका छन्।

बेनी बजारनजिक रहेको हाँडेभीरमा एउटै साँघुरो कोठामा चिसो भुइँमै सुत्ने गरिएको सुस्मिताकी हजुरआमा पुतलीले बताइन्। ‘छोरीले आत्महत्या गरेपछि नातिनातिनीको बिचल्ली भएको छ,’ आँखाभरि आँशु पार्दै उनले भनिन्, ‘बिहान एक छाक खाएर बेलुका भोकै सुत्छौं।’ रोजगारीका लागि खाडी मुलुक गएका ज्वाइँको कमाइले ऋण तिर्नसमेत मुस्किल भएकाले जाडोमा लगाउने न्यानो लुगासमेत जुटाउन नसकिएको पुलतीले दुखेसो गरिन्। वृद्ध भइसकेका भाइ गोरे किसानले दैनिक ज्यालामजदुरी गरी कमाएको आम्दानीले चामल किन्ने गरिएको तर कमाइ नभएको दिन भोकै सुत्नुपर्ने उनले बताइन्।

‘एउटी नातिनीले पेट्रोल पम्पमा काम गर्छिन्, विद्यालय पठाउन पनि सकिनँ, अरू घरमै बस्छन्,’ उनले सुनाइन्। नजिकै रहेको विद्यालय छ। तर कापी, किताब तथा पोसाक किन्न एक पैसा पनि नभएकाले पढ्न पठाउन नसकिएको उनले गुनासो गरिन्। ‘विदेशिएका ज्वाइँले पैसा पठाउँदैनन्,’ दसैं–तिहारमा पनि फोन आएन, छोराछोरी रुँदै बसे,’ पुतली सुनाउँछिन्।

बेनीका सुनचाँदी व्यवसायी लीलाबहादुर बानियाँको जग्गामा ब्लक र टिनको छाप्रो हालेर बसेको छ उनको परिवार। उनको परिवारको हालत देखेर जग्गाधनीले भाडा पनि लिने गरेका छैनन्। दैनिकजसो भोकै सडकमा निस्किने ती बालबालिकालाई म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले खाजा दिने गरेका छन्। ‘बिहानै आउँछन्, ग्यारेजमा आउने चालकले पैसा र खानेकुरा दिन्छन्,’ श्रेष्ठले सुनाए। यस्तो जाडोमा न्यानो लुगासमेत नलगाई आउने बालबालिकालाई सहयोग र संरक्षणको आवश्यकता रहेको उनले बताए।

एकसरो लुगा, खाली खुट्टा
डेढ वर्षको उमेरमा आमाले सधैंका लागि छाडेर गएदेखि अमृतको खुट्टामा जुत्ता–चप्पल परेका छैनन्। ज्यानमा एकसरो पातलो लुगा मात्र छ। आमाको काखमा गुटुमुटु परेर सुत्नुपर्ने उमेरका उनले पनि घरका अन्य सदस्यले जस्तै पेटभरि खान पाउँदैनन्। त्यसकारण उनी अरूसँग बिस्कुट र चाउचाउ मागेर खाने गर्छन्। चामल नभएका बेला चिउरा र पानी खाएर भोक मेटाउने गरेको पीडित बालबालिका बताउँछन्। ‘मागेर चलाउनुपर्ने बाध्यता छ, गरिबीको फाइदा उठाउँदै कसैले उमेर बढ्दै गएका भाञ्जीहरूलाई प्रलोभनमा पारेर केही गर्छन् कि भन्ने चिन्ता लाग्न थालेको छ,’ मामा गोरे किसानले भने। उनले बिरामीका कारण केही दिन ज्यालामजदुरीमा जान नसकेकाले घरमा चुलोसमेत बल्न नसकेको उनले सुनाए। उनले बिचल्लीमा परेका आफ्ना भाञ्जभाञ्जीको उद्धारका लागि उनले याचनासमेत गरेका छन्।