मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १८ जिल्लाबाट विद्यार्थी आएका छन् ।कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ ।शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।

विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीनवर्षे आइएस्सी (एजी) र यस वर्षदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा अध्यापन सुरु भएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताए ।संयोजक कडेलका अनुसार जेटिए र आइएस्सी (एजी) विषयमा १२३ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ७३ छात्रा र ५० छात्र छन् । मासिक रु पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको हो ।

आइएस्सी (एजी) प्रथम सेमिस्टरमा अध्ययनरत पर्वतकी गरिमा नेपालीले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताइन् ।

त्यसैगरी एजी दोस्रो सेमिस्टरमा अध्ययनरत सन्देश भण्डारीले नेपाली युवालाई व्यावसायिक कृषितर्फ प्रोत्साहित गरी कृषि उत्पादनमा वृद्धि गर्ने र कृषिबाट नै आयआर्जन गर्न सकिन्छ भन्ने चेतना विस्तार गर्नका लागि आफूले कृषि विषय रोजेको बताए । १८ महीने जेटिएमा अध्ययनरत जमुना घिमिरेले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताइन् ।

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका विमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाकाे भनाइ छ ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्धारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ छ । गर्वुजाका अनुसार यस वर्षदेखि कृषिका साथै भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा पनि प्रदान गरिने भएको छ ।