विश्वमै चर्चित पर्यटकीयस्थल रहेको अन्नपूर्ण गाउँपालिका ३ दानामा प्रथम दाना महोत्सव हुने भएको छ ।दानामा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार, शिक्षा विकासमा आवश्यक पर्ने पूर्वाधार विस्तार, कला र संस्कृतिको संरक्षण लगाएत विभिन्न उदेश्यका साथ महोत्सव गरिने भएको छ । आगामी पुष अन्तिम साता महोत्सवको तयारी सुरु भएको महोत्सवका मुल संयोजक एवम् शिक्षा विकास कोषका संयोजक कृष्ण तुलाचनले बताए ।

‘महोत्सवको तयारीमा जुटेका छौ,’विश्वभरबाट महोत्सवलाई सहयोगको प्रतिबद्धता आइरहेको छ’तुलाचनले बेनीअनलाइनलाई भने। उनका अनुसार महोत्सवको उद्घाटन सहित कार्यतालिका बनाउने, प्रयोजक तथा अन्य तयारी भइरहेको बताए । उनका अनुसार गाउँपालिकाबाट पुष २७ गते उद्घाटन गरी माघको पहिलो साता सम्पन्न गर्ने गरी अनुमति मागिएको छ । उनले महोत्सवमा तारा खेल, भलिबल लगाएतका खेलकुद प्रतियोगितामा आवश्यक पर्ने प्रायोजकको समेत अन्तिम चरणमा पुगेको बताए ।

महोत्सवको अवसरमा दानामा रहेको विश्वमै चर्चित रुप्से झरना, संसारकै गहिरो अन्धगल्छीलाई समेत केन्द्रित गरेर प्रचारप्रसार गरिने बेलायतमा बसोबास गर्ने दानाबासीहरुको साझा संस्था फ्रेन्डली ब्रर्दस दाना सेरोफेरो यूकेका अध्यक्ष बल पुर्जा मगरले बताए । उनका अनुसार मुस्ताङको प्रवेशद्धार दानामा रहेका पर्यटकीयस्थलहरुको प्रचारप्रसारमा राज्यका निकायले समेत ध्यान दिनुपर्ने बताउँदै पूर्वाधार विस्तारमा समेत महोत्सवले ध्यानार्कषण गराउने बताए । ज्ञानप्रकाश माविमा पूर्वाधार विस्तार तथा छात्राबृद्धि लगाएतका शैक्षिक गतिविधिमा सहयोग गदैं आइरेकोमा महोत्सव मार्फत थप सहयोग संकलन गर्ने लक्ष्य रहेको छ । यसैबीच महोत्सवमा जिल्लाभर रह्ेका पुख्यौली समुहलाई समेत निम्तो दिइने छ ।