चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि विचल्लीमा परेका म्याग्दीका चार बालबालिकालाई एक चर्चित राजनीतिज्ञले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । गत बर्षको चैत्र १ गते बेनी नगरपालिका २ हाँडेभिरमा मैयाँ किसानले आत्महत्या गरेपछि दुधे बालक सहित चार बालबालिकाको बिचल्ली भएको समाचार नागरिक दैनिक र बेनीअनलाइनमा प्रकाशित भएपछिपूर्व अर्थमन्त्री एवम् एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले दुई बहिनीको उच्च शिक्षालाई मासिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चार बालबालिका मध्ये एघार बर्षिया सुस्मिता, चार बर्षकी अमृता किसानलाई कक्षा १२ सम्म मासिक ५ हजारको दरले बैंक खातामा जम्मा गर्ने बताए ।‘गरिबीकै कारण शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,‘यस्ता समस्यालाई स्थानीय तहले पनि चासो देखाउनुपर्छ’ लोहनीले भने ।पीडित बालिका मध्ये माहिली सुस्मिताको नाममा बेनीमा रहेको गरिमा विकास बैंकमा खाता सञ्चालन गरिएको छ ।

पुर्वअर्थमन्त्री लोहनीले बार्षिक ६० हजारको दरले कक्षा १२ सम्म ६ लाखभन्दा धेरै हुन्छ। अमृता विद्यालय प्रवेश नै गरेकी छैनन् भने सुस्मिताले समेत कक्षा २ मा पढ्दापढ्दै विद्यालय छोडेकी थिईन् । तीन दिदीबहिनीलाई एउटा साँधुरो कोठाबाट पठनपाठनका लागी विद्यालय जाने अवस्था नभएकाले आवासीय सुविधाको आवश्यकता रहेको छ। बेनपा ४ सिंगा स्थायी घरभई करिव एक दशकदेखि बेनी आसपासमा बस्दै आएका छन् । अलपत्र अवस्थामा रहेका बालबालिका बुबा बैदेशिक रोजगारको सिलसिलामा विदेशमा भएपनि नियमित सम्पर्कमा नभएको परिवारको भनाई छ । यता पीडित परिवारलाई सहयोगको प्रतिबद्धता आउने क्रम जारी छ ।