सुरेशको उपचारका लागि करिब ४२ हजार सहयोग

0

म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि कतारबाट करिब ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका २ बाबियाचौरका मिमबहादुर दगामीको पहलमा कतारको नेभिकेशन कम्पनीमा कार्यरत नेपालीहरुले ४१ हजार ८०० रुपैयाँ सहयोग गरेका हुन् ।

कतारबाट पठाएको रकम बुधबार सुरेशका बुवा सक छन्त्याललाई काठमाडौमा हस्तान्तरण गरिएको बाल रोकाले जानकारी दिनुभयो । १९ वर्षीय सुरेशको काठमाडौको अलका अस्पतालमा डायलाइसीस भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएपछि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले २५ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाएर सुरेशको मृगौला प्रत्यारोपणको तयारी गरिएको छ ।