म्याग्दीको एतिहाँसिकस्थल धवलागिरी गाउँपालिका–७ मा अवस्थित ताकमकोतको पूननिर्माण सुरू गरिएको छ । जिल्लामै पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई असर नगर्ने गरी शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले शिलन्यास गरिन् ।

सयौंबर्ष पुरानो मन्दिरको संरक्षणमा स्वदेश तथा विदेशमा रहेका स्थानीयको पहलमा सङ्कलन गरिएको आर्थिकबाट पूननिर्माण तथा जिर्णद्धार कार्यले धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कोतलाई थप प्रचारप्रसार गर्न सहज हुने मन्त्री थापाले बताईन्।सोही अवसरमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले ताकम, ज्यामरुककोट लगाएत जिल्लाका विभिन्न स्थानमा रहेका कोत मन्दिरको संरक्षणमा स्थानीय सरकारले समेत प्राथमिकता दिनुपर्ने बताए ।

बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्व सहित मन्दिरको पुननिर्माणका हालसम्म नगद १० लाख संकलन भएको वडा अध्यक्ष कलानिधी सुबेदीले बताए । उनका अनुसार ताकम, धारापानी लगाएत वडाभित्रका विभिन्न बस्तीबाट विदेशमा गएकाले प्रतिबद्धता जनाए अनुसारको सहयोग संकलन भएमा पुननिर्माण सहज हुने बताए । उनका अनुसार करिव ६० लाखको लागतमा पुननिर्माणकार्य सुरु हुने छ । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिने ताकमका स्थानीय गोपाल आचार्यले बताए ।

उनका अनुसार अनुसार अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् । पश्चिम म्याग्दी हुदै गुरिल्ला, धौलागिरी आधार क्षेत्र र ढोरपाटन शिकार आरक्ष जाने आन्तरिक तथा बाह्य पर्यटकलाई कोतसम्म पुग्ने गरी विभिन्न जानकारीमुलक साम्रागी समेत बनाइने समितिले जनाएको छ । नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले कोत मन्दिर सहित भक्तजन र पर्यटकलाई त्यहाँ पुग्न आवश्यक पूर्वाधार विस्तार गरिने बताए ।कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगाएतका ऐतिहाँसिक महत्वका हतियार, पुराना साम्रागी रहेका छन् । संरक्षणको अभावमा पुराना हातहतियार जिर्ण बनेका छन् । कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी,दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।
तस्वीर सौजन्य गोपाल आचार्य