जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४÷७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ लगानी भएको जानकारी दिनुभयो ।८४१ जना सदस्यको ५२ लाख ६३ हजार ९०० रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ८३ लाख २६ हजार ३५७ रुपैयाँ आम्दानी, ६१ लाख २१ हजार ४४५ रुपैयाँ खर्च र २२ लाख चार हजार ८११ रुपैयाँ खुद मुनाफा भएको जनाएको छ ।

गत वर्ष एक करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले बताउनुभयो । पाँच जना सम्मको १०४ वटा समूह बनाएर सामुहिक जमानिको आधारमा बिना धितो एक जनालाई एक पटकमा एक लाख रुपैयाँ सम्म ऋण लगानी गरिने कार्कीले बताउनुभयो । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाइभैसी पालन, तरकारी र फलफुल खेतीमा लगानी बढाउने योजना रहेको छ ।

साधारणसभामा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सहकारी मार्फत तरकारी, फलफुल खेती र पशुपालनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले कृषक, महिलाहरुको आयआर्जन वृद्धीका लागि गाउँपालिकाले सहकारी संस्थासँग सहकार्य गर्ने निती लिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले सहकारी संस्थालाई बचत र ऋणमा मात्र सिमित नराखी आयआर्जन, सामाजिक रुपान्तरणको गतिबिधिमा पनि सक्रिय बनाउन सुझाव दिनुभयो । वडा अध्यक्षहरु भिष्म मल्ल, हरिविकास जिसी र गोविन्द खत्रीले पनि उत्पादनमुलक र रोजगारी सिर्जना हुने क्षेत्रमा सहकारीको लगानी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सदस्यहरुले सहकारीको पहलमा बालि र पशु बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । साधारणसभामा मल्लाज बहुउद्देश्यीय सहकारीका हिराबहादुर जिसी, मल्लाज बगरफाँट सहकारीका अध्यक्ष नविन जिसी, माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शान्ता लामीछानेले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।संस्थाकी अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष बिन्दु पौडेलको स्वागत र सचिव डम्मरबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापकहरु, उत्कृष्ट अंक हासिल गरेर दश जोड दुई तह उतिर्ण हुने सेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।

विज्ञापन