बेनीदेखि लभ्लीहिल जोड्ने पदमार्गको निर्माण सुरु

0
262

शिलन्यास भएको तीनमहिनामा सम्पन्न गर्ने घोषणा गरिएको पदमार्गको निर्माणकार्य सुरु भएको छ । सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्गको आइतबारदेखि निर्माणकार्य सुरु भएको  छ । 

बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको भदौ ८ गते शिलन्यास गरिएको थियो । बेनी–बगरफाँट सडक नजिकबाट सुरू गरिएको पदमार्ग ढलान तथा स्थानीय ढुंगाबाट बनाइने म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आईइसीले ४० र म्याग्दी उवा संघले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भइसकेको छ । तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएको बेनी नगरपालिकाले जनाएको छ । पदमार्गमा सिमेन्टको प्लाष्टरसहित सिँढी बनाइने र दुवैतर्फ रेलिङ राखिने छ ।

सामुदायिक बन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफुलका विरुवा समेत लगाउने सोच बनाइएको बताए ।लभ्लीहिलमा गतबर्ष बस्नका लागि आरामदायी बेन्च, गोलघर (भ्यु प्वाईन्ट) र चौतारी लगाएतका संरचना बनेपछि दैनिकजसो आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।