बेनी सामुदायिक माविमा कक्षा ८ मा अध्ययरत विद्यार्थीले दैनिकजसो सडकबाट उडेको धुँलोले हैरानी खेप्नुपर्छ। विद्यार्थीले कक्षा कोठाका सबै झ्याल समेत बन्द गर्दछन् ।सडकखण्ड अन्तरगत गुड्ने सवारीसाधन तथा धुलाम्मे सडकका कारण विद्यार्थीले माक्स समेत लगाएर बस्नुपर्ने बाध्यता छ ।

सडकबाट कक्षाकोठामा सिधै धुँलो पस्ने गरेकै कारण विद्यार्थी विरामी समेत हुने गरेका छन् । ‘धुँलो र सवारीसाधनको आवाजले समस्या हुन्छ,‘धुँलोले विद्यार्थी नै ढाक्छ अनिमा शर्माले बताईन् । उनले कक्षा कोठाबाट दैनिकजसो धुलाम्मे भएर घर जानुपर्ने अवस्थाको अन्त्य गर्न माग समेत गरिन् । विद्यार्थीले समस्यालाई समाधान गर्न विद्यालयमा निरिक्षणका लागि आउने सरोकारावाला निकायका प्रतिनिधिको समेत ध्यानर्कषण गराउने गरेपनि समस्याको समाधान नभएको गुनासो गरे ।

बेनी–अर्थुङ्गेको विद्यालय आसपासका क्षेत्रमा कालोपत्रै नहुदाँ पाँचवटा कक्षामा धुँलोले समस्या भएको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए । ‘विद्यालय आसपासका क्षेत्रमा कालोपत्रे छैन्, कच्ची सडकबाट धुँलो सिधै विद्यालयमा प्रवेश गर्छ’ श्रेष्ठले भने । उनले विद्यार्थी विरामी समेत हुने गरेको बताउँदै दिउँसोको समयमा सवारीसाधन समेत आवतजावत बन्द गर्नुपर्ने बताए । उनले समस्या समाधान नभए विद्यार्थीले सडक बन्द गराउने भन्दै दवाव समेत दिएको बताए ।

नेपालकै सवौउत्कृष्ट सामुदायिक विद्यालयको रुपमा समेत स्थापित विद्यालयमा देशभरबाट भ्रमण गर्न आउनेको लर्को लाग्ने गरेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि थप पूर्वाधार,शैक्षिक गुणस्तर सहितका अभियानमा तिब्रता दिएको विद्यालयको समस्याका बारेमा वडा कार्यालय तथा नगरपालिकामा समेत जानकारी गराइएको छ । यसैबीच वेनपा ७ ले विद्यालय आसपासमा कालोपत्रे तथा सवारीआगमनलाई ब्यवस्थित गर्ने प्रतिबद्धता जनाएको विद्यालयले जनाएको छ । यसैबीच जिल्लाको ग्रामिण क्षेत्रमा समेत सडक आसपासमा रहेका विद्यालयमा धुँलो र सवारी ध्वनीले विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको छ ।