पक्की पुलबाट म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने वित्तिकै ठाउँ–ठाउँमा सान–साना खाल्डाखुल्डी पोखरी जस्ता देखिन्छन्। पर्वत बेनीबाट प्रवेश गरेलगत्तै सडकमा दुई पाङ्ग्रे सवारीसाधन र पैदलयात्रा गर्ने यात्रुले ठूलै जोखिमको सामना गर्नुपर्छ । सडकको हिलो सर्लक्कै घरभित्र पुग्छ । बर्खाको समय जस्तै सडकमा हिड्ने अवस्था छैन् । घाम लाग्दा समेत सडकमै पानी जमेर पशुचौपाया आहाल बस्ने जस्तै ‘मिनी पोखरी’ मा परिणत हुन्छ ।

मंसीर–पुस महिनामा समेत असार साउनमा जस्तै हिलोमा चुर्लुम्मै डुब्नुपर्छ । सडक आसपासमा रहेका घर भित्रै हिलो पुग्छ। पक्कीपुल देखी ट्राफिक प्रहरीको चेकपोष्टसम्म पानी परेको बेलामा मात्रै नभई बाह्ै महिना गाडी गुड्दा समेत सडकको पोखरीमा आसपासका घरका छाँया देखिन्छ । दैनिक विद्यालय, क्याम्पस, कार्यालयमा जाँदा सुकिलो लुगा लगाएर घरबाट निस्केनहरु फर्किदा हिलाम्मे हुन्छन् ।

अझै बालबालिकका बर्खाको समयमा खोला तरेजसरी नै बोटो काट्न बाध्य छन् । सडकको अवस्था यो भन्दा धेरै बयान गरेर सकिदैन् । म्याग्दी जिल्लालाई देशका प्रमुख राजमार्ग जोड्ने सडकको अवस्थाले नकारात्मक सन्देश फैलिएको छ ।छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाको पर्वत बेनीबाट म्याग्दीमा प्रवेश गरेलगत्तै सडकको नाजुक अवस्थाले सम्रग जिल्लालाई बदनाम गराउँदा समेत बेनी नगरपालिका, सडक विभाग तथा स्थानीय सरोकारवाला निकायको प्रभावकारी पहल हुन सकेको छैन् ।

नेपालका विभिन्न जिल्लाबाट म्याग्दी र मुस्ताङ घुम्न आउनेले सडकको अवस्था देखेर बेनीबजार त हिलाम्मे रैछ भन्दै फर्किने गरेको दैनिक कालिपुलमा डेढ दशक देखी ब्यवसाय गरिरहेका खेम केसीको कानमा पर्छ । ‘यो सडकको अवस्था सधै यस्तै हो,‘समस्या पहिचान भएपनि समाधानमा चासो देखाउँदैनन्’ केसीले भने । उनका अनुसार ट्याक्सी र बसपार्क आसपासबाट आउने पानीलाई ढलको ब्यवस्थापन गरेमा सहज हुने बताउँछन् । हिलाम्मे सडकमा दैनिक दुईतीनवटा मोटरसाईलक पल्टिने गरेको उनले बताए ।

सडकलाई स्थानीयले पटकपटक मर्मतका लागी पहल गरेपनि बेनी नगरपालिकाले सडक विभागको बजेटको प्रतिक्षा गरेको छ । सडककै कारण सुविधासम्पन्न होटल तथा अन्य पसलमा समेत ग्राहक नआउने गरेका गुनासो स्थानीयको छ । यता बेनी नगरपालिकाले चार करोड बजेट विनियोजन भएपनि प्रदेश र केन्द्र सरकार बीच बजेट कार्यान्वयनमा देखिएको मतभेदका कारण अलपत्र परेको बताएको छन् । वडा नं ८ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता समेत रहेका रामकृष्ण बराईलीले सडक मर्मतमा प्रयास गरेपनि सफल नभएको बताए ।‘सडक मर्मतमा पहल भइरहेको छ,‘विनियोजित बजेट समेत कार्यान्वयन हुन सकेन’ बराईलीले भने ।

उनले आगामी कार्यापालिका बैठकमा खाल्टाखुल्टी मर्मत गर्न बजेट माग गर्ने बताए । उनले सडकको समस्या समाधानको एउटै विकल्प कालोपत्रे भएको बताए । उनले सडकले स्थानीयलाई परेको समस्यालाई मध्यनजर गरी केही बजेटले ढल निकासको काम गरिएको बताए । उनले सढकको अवस्थाले जिल्लाका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको तर्फ नगरपालिका संगै प्रदेश तथा प्रतिनिधिसभाका सदस्यलाई समेत जानकारी गराइएकाले विनियोजित बजेटलाई पुनः काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।