बागलुङ जेसीजका पूर्व अध्यक्ष राजभण्डारी नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा भिड्दै

0
159

‘शासन व्यक्तिको हैन विधी को हुन्छ’ भन्ने सिद्धान्त बोकेको नेतृत्व र व्यक्तित्वको नेतृत्वदायी युवा संगठन नेपाल जेसीजको नयाँ नेतृत्वको लागि अधिवेशन यहि पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरमा हुँदैछ । जसका लागि बागलुङ जेसीसबाट सुदिप राजभण्डारीले अध्यक्ष पदको लागि आफ्नो उमेदवारी दर्ता गराएका छन् । बागलुङ जेसीज सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरेर नेपाल जेसीज वर्ष २०१९ का अध्यक्षका उम्मेद्वार राजभण्डारीले आफ्नो गृह जिल्लाबाट आफ्नो निर्वाचनको यात्रा शुरूवात भएको बताए ।

कार्यक्रममा बोल्दै राजभण्डारीले नेपाल जेसीजलाई सुचना मैत्री बनाउने र युवालाई रोजगारी मुलक तालिम दिने आफ्नो योजना भएको बताएका छन् । राजभण्डारी २००२ बाट बागलुङ जेसीजको साधारण सदस्यता लिई १६ वर्षको लामो जेसीज यात्रा पार गरि सकेका छन् ।  राजभण्डारीले सन् २००५ मा शाखाको महासचिव, २००६ मा कार्यकारीणी उपाध्यक्ष र २०१० मा शाखाको अध्यक्षमा रहेर कुशल नेतृत्व गरेका थिए । सोही कुशल नेतृत्वको प्रभावले सोही वर्ष नेपाल जेसीजबाट उत्कृष्ट अध्यक्षको तारा अवार्डबाट पुरस्कृत समेत भएका थिए ।

सन् २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आइटी प्रोगाम कोडिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बागलुङ जेसीजको आथित्यतामा सम्पन्न ४० औँ राष्ट्रिय महाधिवेशनको उपनिर्देशकमा समेत रहेर आफ्नो कार्यकुशलता प्रर्दशन गरेका थिए । नेपाल जेसीजका पूर्व उपाध्यक्ष राजभण्जडारीले जनकपुरमा हुन लागेको नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएका हुन् । प्रचारप्रसारलाई तिव्र पार्दै युवाहरुलाई व्यवसायी बन्न उत्प्रेरित गर्ने र नेपाल जेसीजको सचिवालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने मुख्य लक्ष्य रहेको बताए ।

उनले नेतृत्व र व्यक्तित्व विकासको पर्यावाची संस्था जेसीजमा आफुले सिकेका कुरा यस संस्थामा आबद्ध हरेक युवाहरुलाई विभिन्न तालिम र प्रशिक्षणद्धारा थप प्रोत्साहित गर्दै युवामैत्री व्यवसायमा उत्प्रेरीत गर्दै सफल नेतृत्वद्धारा देशव्यापी रुपमा लागु गरी जेसीजलाई झन सफल बताए । राजभण्डारी जेसीज बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत महत्त्वपूर्ण भुमिका निभाउदै आएका राजभण्डारी ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा कर्जा तथा सञ्चालन प्रमुखमा रहेर काम गर्दै आएका छन् ।

उनी नेपाल भाषा मंका खल बागलुङको सचिव, शंखधर बहुमुखी सहकारी संस्थाको लेखा संयोजक, कम्प्युटर एशोसियसन नेपाल महासंघ गण्डकी प्रदेशको सचिव, सिवाइसी लघुवित्त विकास बैंकको संस्थापक, शुभम इन्टरप्राइजेज (झोला तथा ड्रेस उत्पादन कम्पनी) को सञ्चालक, सिद्धार्थ शिक्षा सदन बागलुङको सञ्चालक लगायतका संघ संस्थामा आबद्ध छन् ।

जेसीजमा आबद्ध पश्चात विभिन्न तालिमहरुमा प्रशिक्षकको जिम्मेवारी पाएका राजभण्डारीले आफ्नो उम्मेदवारी अहिलेको आवश्यकता र समय सापेक्ष रहेको बताए । बागलुङ जिल्लाबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको लागि उम्मेद्वार बनेका राजभण्डारी दोस्रो व्यक्ति हुन् । यस अघि बागलुङ कै पुनम शाक्य १९९९ पनि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उमेदवारी दिएका थिए । सन् २०१५ सालमा म्याग्दी जिल्लाका धनन्जय कुमार श्रेष्ठ नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बनिसकेका छन् ।

बागलुङ जिल्लाबाट २० वर्षपछी नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उमेदवार दिएको छ ।  नेपाल जेसीज देशभरिका १४५ शाखाका १७ सय मतदाता रहेको महाधिवेशनमा अहिले राष्ट्रिय अध्यक्षमा बागलुङबाट सुदीप राजभण्डारी र इटहरीका महेश पौडेल बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।