डिभिजन बन कार्यालय म्याग्दीका एक अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको आवसागृहको पुजा कोठामा काठ सम्बन्धी मुद्धा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट रकम लिँदै गर्दा सहायक बन अधिकृत राजकुमार ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुस सहित पक्राउ गरेको हो ।

विगत आधादशक देखि बन कार्यालयका कार्यरत ठाकुरले सेवाका नाममा पटकपटक सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आउने गरेपनि आवश्यक प्रमाणको अभावमा बच्दै आएका थिए । बन कार्यालयमा परेका विभिन्न मुद्धालाई आधार बनाएर सेवाग्राहीलाई सताउने गरेका ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागी पोखरा लगिएको छ । नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता प्रकाश पौडेल र युवा नगेन्द्र जिसीको सुचनाका आधारमा अख्तियारको टोली बेनी आएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध रुपमा बरामद गरेको काठ आवश्यक अनुसन्धानका लागी डिभिजन कार्यालयलाई जिम्मा लगाएपछि सहायक अधिकृत ठाकुरले मुद्धा मिलाउन मोटो रकम माग गरेको पीडितको भनाई उद्धित गदैं यूवा नेता पौडेलले बताए । केही हप्ता अगाडी विद्यार्थी नेता पौडेल सहितका युवाहरले भ्रष्टाचार र घुसखोरी विरुद्धको अभियान सञ्चालन गरेको घोषणा गरेका थिए । डिभिजन बन कार्यालयका कर्मचारीले समेत काम गरेबापतको रकम समेत सहायक अधिकृत ठाकुरले प्रयोग गर्ने गरेको बताए ।