सदरमुकाम बेनीको न्यूरोडमा शुक्रबार विहान आगलागी हुदाँ करिव १३ लाख बराबरको क्षती भएको छ । बेनी नगरपालिका ८ न्यूरोडमा बिक्रम विश्वकर्माको चारतले घरको छतमा रहेको टिनको छाप्रोमा विद्युत सर्ट भएर आगलागी हुदाँ करिव १३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शुक्रबार विहान करिब ८ बजे एक्कासी कोठाबाट आगोको मुस्लो निस्किएपछि स्थानीयबासी, प्रहरी र नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

आगालागीबाट नगद, लत्ताकपडा, सुन लगाएत महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएको मिलन विश्वकर्माले बेनीअनलाइनलाई बताए । ‘नजिकैको भान्साकोठाबाट आए जस्तो लागेको थियो, विद्युत सर्ट भएर आगो सल्लिएको रहेछ’ विकले भने।  घरायसी सामान समेत रहेको कोठामा मिलनले प्रयोग गदै आइरहेका थिए । आगोलागी भएलगत्तै मिलन र उनकी श्रीमतिले तत्कालै जानकारी गराएपछि न्यू धौलागिरी बचत तथा ऋण सहकारी, आसपासका अन्य घरबाट पानीले निभाउने प्रयास गरिएको थियो ।

आगलागी भएको सुचना पाएको करिव आधाघण्टापछि मात्रै नगरपालिकाको दमकल पुगेको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिन सहज भएको स्थानीय यूवा एवम् म्याग्दी जेसीजका अध्यक्ष कलम विश्वकर्माले बताए । विहानपख आगलागी भएकाले पनि ठुलो क्षतीबाट जोगिएको स्थानीयको भनाई छ । आगलागीबाट आसपासका घरमा फैलिन नदिने गरी प्रहरी र शसस्त्र प्रहरीले सक्रियता देखाएका थिए । आगलागीको प्रारम्भीक क्षतीको अनुमान गएिपनि घरधनीका अनुसार २५ लाखभन्दा धेरै क्षती भएको बताएका छन् ।