जिल्ला समन्वय समितिमा जिल्लाका पर्यटकीय, धार्मिक तथा अति महत्वपूर्णस्थलहरूको प्रचारप्रसार, विकास निर्माणका गतिविधि, कार्यालयबाट सम्पादन भएका कामकारवाही स्थानीय र आम जनतालाई सजिला र सहज रुपमा थाहा दिने उदेश्यले कार्यालयभित्र सेवाग्राहीलाई लक्षित गरी राखिएको एलईडी टिभी गायब भएको छ ।

तत्कालिन स्थानीय विकास अधिकारी चिरिञ्जीवि पौडेलको कार्यकालमा सेवाग्राहीलाई नागरिक बडापत्र, सूचना, सार्वजनिक सरोकारका जानकारी समेत समेटेर स्थापना गरिएको डिजिटल सूचना पाटीको रुपमा प्रयोग गरिएको टिभी विना जानकारी ब्यक्तिगत रुपमा प्रयोग गर्न लगेको हुनसक्ने एक कर्मचारीले बेनीअनलाइनलाई बताए । ‘कार्यालय भित्रकै कर्मचारीले लैजानुभएको छ,‘सेवाग्राहीको चहलपहल कम हुन थालेपछि अन्य सामान पनि हराउन थालेका छन’ एक कर्मचारीले नाम नवताउने सर्तमा भने ।उनले स्थानीय तहको निर्वाचन लगत्तै बेकामे बनेको जिससमा समानको सुरक्षा समेत नभएको गुनासो गरे ।

‘कार्यालयको टिभी कर्मचारी भित्रैबाट प्रयोग भइरहेको छ,‘कार्यालय समयमा टिभि नदेखिएपछि खोजीकार्य समेत गरिएको थियो’ उनले भने ।जिससमा सेवा लिन आएका सेवाग्राहीले विभिन्न गतिविधिका साथै समाचार हेर्नका लागी समेत प्रयोग गर्ने गरेका थिए ।यता जिसस प्रमुख देबेन्द्र बहादुर कटुवालले सूचनाका लागी प्रयोग भइ्ररहेको टिभी विना जानकारी कर्मचारीले प्रयोग गरेको स्वीकार गरे। ‘दुई हप्ताका लागी कोठामा राख्नुभएको छ,‘केहीदिनमै फर्किन्छ’ कटुवालले भने ।

उनले कर्मचारीबाटै टिभि क्वाटरमा लगेर ब्यक्तिगत रुपमा प्रयोग गरेपनि सुरक्षित रहेको बताए । उनले विना जानकारी लैजानु गल्ती भएको कर्मचारीले नै स्वीकार गरेको समेत बताए । जिसस म्याग्दीका सामानहरुको सुरक्षामा कुनै कमी नहुने जिसस प्रमुखको भनाई छ । यता कर्मचारीबाटै सूचना दिने टिभि गायव भएपछि केहीदिन यता कार्यालयमा कर्मचारी बीच गायब बनाउने कर्मचारीका बारेमा चर्चा हुने गरेको छ । स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचन लगत्तै बेकामे बनेका सरकारी कार्यालयका राम्रा सामानहरुमा कर्मचारीले गिद्धे नजर लगाउने गरेको भन्दै केही तल्लो तहका कर्मचारीले गुनासो गर्ने गरेका छन् ।