जिल्लाको मालिका गाउँपालिका ५ देविस्थानमा हेलिप्याड निर्माण भएको छ । जिल्लाका सबै स्थानीय तहका वडापिच्छे हेलिप्याड बनाउने अभियान अन्तरगत शुक्रबार देविस्थान स्वास्थ्य चौकी नजिक हेलिप्याड निर्माण गरिएको हो ।

वडा कार्यालयको सिफारिस, गाउँपालिकाको समन्वयमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडा अध्यक्ष पिपला बुढा, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढा, शसस्त्र प्रहरी बल गलेश्वरस्थित गुल्मका नायवउपरिक्षक अनिल कार्की लगाएत स्थानीयको युवाकल्वका प्रतिनिधिहरुको टोलीले हेलीप्याड निर्माण गरेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बेनीअनलाइनलाई बताईन् ।

‘एकबर्षभित्र सबै वडामा हेलिप्याड बनाउने छौ,‘स्वास्थ्यचौकी आसपासमै जग्गा ब्यवस्थापन गरिएको छ’ बिटालुले भनिन् । उनका अनुसार यसअगाडी बडा नं २ रुमको स्वास्थ्यचौकीमा हेलिप्याड बनाइएको छ । केही वडामा आवश्यकता अनुसार दुईवटासम्म बनाउनुपर्ने भएकाले पनि प्राथमिकतामा स्वास्थ्यचौकी आसपासका क्षेत्रमा पहिलोचरणमा काम गरिने बताईन् ।

आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी जिल्ला विपद् ब्यवस्थापन समितिले स्थानीय तहसंग सहकार्य गरी दुईबर्ष भित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडामा हेलिप्याड बनाउने अभियानलाई तिब्रता दिएको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड सुरू गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

‘स्थानीय जनप्रतिनिधिको सक्रियताले उत्साहित छौ,‘जग्गा ब्यवस्थापन भएका ठाउँमै केही समस्या छैन’ प्रजिअ अधिकारीले भने । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्राविधिक सहयोगमा हेलिप्याड बनाउने कार्य भइरहेको बताए । रघुगंगा गाउँपालिकाको पाखापानीबाट सुरू भएको अभियान मंगलाको वडा नं १ कुहुँ, वडा नं २ हिदीमा समेत निर्माण गरिएको छ । जिल्लाको धवलागिरी, रघुगंगा गाउँपालिकाका केही वडामा अझै पनि सडक सञ्जाल पुग्न नसकेको अवस्थामा तत्कालै सरकारले सुरु गरेको एयर एम्बुलेन्स सेवालाई प्रयोगमा ल्याउन हेलिप्याडको आवश्यका थियो । स्थानीयतहले हेलिप्याड निर्माणका लागी आवश्यक बजेटमा समेत उपलब्ध गराउने गरेका छन् ।