अर्मनको पिपलबोटमा ब्यक्तिगत लगानीमै हेलिप्याड

0
444

जिल्लाको मंगला गाउँपालिका–५ अर्मनमा एक यूवाले ब्यक्तिगत खर्चमा हेलिप्याड बनाएका छन् । अर्मनको पिपलबोटका तिलक ढकालले आफ्नो ब्यक्तिगत जग्गामा सार्वजिक प्रयोगका लागी करिव डेढ लाखको लागतमा हेलिप्याड बनाएका हुन्।

नेपाल सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सेवालाई प्रभावकारी बनाउन हेलिप्याडमा खर्च गरेको ढकालले बताए। ‘हवाई सेवाका लागी सहज हुने गरी आफ्नै लगानीमा हेलिप्याड बनाएको छु,‘आवश्यकता अनुसार मर्मत समेत आफै गर्छु’ ढकालले बेनीअनलाइनलाई भने ।

पश्चिम म्याग्दीको प्रमुख ब्यापारिक केन्द्र दरबाङमा संगम हाडवर्यर तथा सप्लार्यस सञ्चालक ढकालले आपतकालिन सेवासंगै पर्यटन तथा स्थानीयले आवश्यकता अनुसार आवतजावतमा समेत सहज हुने गरी हेलिप्याड निर्माण गरेको बताए । पिपलबोटमा निर्मित हेलिप्याडले अर्मनका साथै मालिका गाउँपालिकाको वडा नं १ निस्कोटका केही बस्तीका बासिन्दालाइ्र्र सहज हुने स्थानीयको भनाई छ । हेलिप्याड आवश्यकता अनुसार प्रयोग गर्ने भएपनि आवश्यक न्यूनतम पूर्वाधार पुरा गरी निर्माण गरिएपछि स्थानीयबासी, जनप्रतिनिधिले समेत धन्यवाद दिएका छन्। जिल्लामा एक वडा एक हेलिप्याड निर्माणको अभियानले तिब्रता पाएको छ ।

संघीय सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थाप, गण्डकी सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुनले समेत जिल्ला भ्रमणमा एयर एम्बुलेन्सका लागी न्यूनतम पुर्वाधारमा स्थानीय तहले चासो देखाउनुपर्ने बताउने गरेकी थिईन। गत कात्तिक २६ गते गृहमन्त्री रामबहादुर थापाले विपद् ब्यवस्थापनमा पूर्व तयारीलाई मध्यनजर गरी जिल्ला तथा स्थानीय तहमा प्रभावकारी संयन्त्र बनाउने अभियान अन्तरगत जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गरेपछि विपद्का जोखिम मानिएका वडाहरुमा आवश्यकता अनुसारका हेलिप्याड बनाउन स्थानीय तहले सक्रियता देखाइरहेको छ ।