मंगला गाउँपालिका –१ क्ुहुँका जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यले एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा आयोजित शिवीरमा जिल्ला स्थीत सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका थिए ।

भौगोलिक रुपमा विकटता, बृद्धबृद्धा, आर्थिक अवस्था कमजोर, घरायसी समस्या लगाएत विभिन्न कारणले सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिन नसक्ने अवस्थाका जनतालाई वडामै पुगेर सेवा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।जिल्लाका पाँचवटै स्थानीय तहमा घुम्ती शिविर सञ्चालनका लागी कार्ययोजना समेत बनाएर अगाडी बढेको प्रजिअ अधिकारीको भनाई छ ।

गाउँपालिकाको केन्द्र तथा वडास्तरमा सञ्चालन गरिएका शिविरमा अधिकांस बृद्धबृद्धाको भीड हुने प्रजिअ अधिकारीको भनाई छ ।शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, जिल्ला अदालतबाट कानुनी शिक्षा बेनी अस्पताल, जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र, कृषि ज्ञान केन्द्र, सुन्तला जोन, जिल्ला प्रहरी कार्यालयबाट सचेतनामुलक कार्यक्रम लगाएत सदरमुकाम बेनीमा उपलब्ध सरकारी कार्यालयले सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

यसैबीच गाउँपालिकाबाटै पहिलोपटक सुरू भएको जेष्ठ नागरिक तथा अपाङ्ता परिचयपत्र वितरणमा समेत सेवाग्राहीको भीड लागेको थियो । कुहुँ खानीगाउँका चार बर्षिय बीर बहादुर अर्मजालाई गाउँपालिका अध्यक्ष रोकाले परिचयपत्र वितरण गर्दै सेवाको उद्घाटन गरेका थिए । जेष्ठ नागरिक परिचयपत्र लिन गाउँगाउँबाट बृद्धबृद्धा शिविरमा आएका थिए । जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्ने बृद्धबृद्धालाई सार्वजनिक यातायात र स्वास्थ्य चौकीमा छुट हुने बताइएको छ ।