मंगला गाउँपालिकाको अभियान,‘पिसाबलाई हिसाबमा रुपान्तरण’

0

सामुदायिक बनमा फैलिएको बनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहोर, पात–पतिंगर लगाएत खेर गएका कच्चा पदार्थ संकलन गरी जैविक प्रांगारिक मल उत्पादन केन्द्रको स्थापनासंगै मंगला गाउँपालिकाले मानवको मलमुत्र संकलन गरी अर्गानीक खेतीमा प्रयोग गर्न अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन हरेक विद्यालयममा रहेका शौचालयमा खेर गइरहेको पिसाब सङ्कलन गर्ने गरी आइतबारदेखि विद्यालयस्तरमै कार्यक्रम सुरू गरिएको छ । गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिसु कल्याण माविमा ‘पिसावलाई हिसावमा रुपान्तरण’ भन्ने अभियान अन्तरगत अगुवा कृषक, विद्यार्थी,अगुवा कृषक लगाएत जनप्रतिनिधिको उपस्थितीमा विज्ञको उपस्थितीमा कार्यक्रम गरिएको छ ।

तरकारी खेतीमा रसायनीक मलको प्रयोगलाई निरुत्साहित गदैं माटोको आयू र उत्पादन बृद्धि लगाएत संकलनको विधिका बारेमा विज्ञ श्रीरेन्द्र प्रकाश पोखरेलले सहजिकरण गरेका थिए । एकदिने अन्तरक्रिया तथा संकलन सम्बन्धि कार्यक्रममा विज्ञ पोख्रेलले विभिन्न जिल्लामा मानवमुत्र संकलनको अवस्था, कृषकको जीवनस्तरमा ल्याएको परिवर्तन लगाएत विविध विषयमा आधारित डकुमेन्टी समेत प्रर्दशन गरेका थिए ।

‘प्रसस्तै आम्दानी हुन्छ,अहिले उत्पादन भइरहेको खेतीलाई दोब्बर बनाउन सकिन्छ’ विज्ञ पोख्रेलले भने ।उनले अर्गानिक खेतीका लागि विगतमा समेत गाउँपालिकाले गरेका प्रयासलाई सफल बनाउन हरेक कृषकले घरघरमा मानवमुत्र संकलन गरेर तरकारी खेतीमा प्रयोग गर्न समेत जोड दिर्ए ।गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले विद्यालयबाटै अभियानको सुरुवात गर्ने बताए ।उनले पिसाबाट हरेक किसानले आम्दानीको हिसाब गर्ने गरी अभियान सञ्चालन गर्ने बेनीअनलाइनलाई बताए ।

उनले सार्वजनिक स्थान, विद्यालयमा पिसाब संकलन गर्न मिल्ने शौचालयको निर्माणलाई प्राथमिकता दिने बताए ।उनले गाउँपालिकाले सानो लगानीमा समेत मनग्य आम्दानी गर्न मिल्ने क्षेत्रहरुको पहिचान गरिरहेको बताउँदै कृषकलाई अभियानमा साथ दिन समेत अनुरोध गरे ।मानवमलमुत्रसंगै पशु मलमुत्र प्रयोगलाई समेत संगसंगै लैजाने गरी भकारो सुधारका कार्यक्रमलाई समेत आवश्यकता अनुसार प्राथकिता दिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र बहादुर केसी, नेकपाका नेता चन्द्रबहादुर बुढाथोकी, कृषि नाप्रास तारा बानियाँ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकृत एवम् कार्यकारी सचिव राजेन्द्र आचार्यले गरेका थिए । कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको थियो । अगुवा कृषकले मलमुत्र संकलन गरी सुन्तला बगैचामा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।