जीपले ठक्कर दिदाँ बृद्धाको मृत्यु

जिल्लाको मंगला गाउँपालिका-५ अर्मन धारामा बोलेरो जीपको ठक्करबाट एक बृद्धाको मुत्यु भएको छ । बावियाचौरबाट अर्मन तर्फ गइरहेको ग २ च ३०८ नम्बरको जीपको ठक्करबाट गम्भीर घाईते भएकी स्थानीय ७० बर्षिया बृद्धा कृष्णकुमारी रोका क्षेत्रीको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यात्रु र सामान लिएर जाने क्रममा ठक्कर दिएपछि प्रहरीलाई समेत जानकारी नदिई उपचारको क्रममा पोखरा पु¥याइएकी रोका क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएपछि कास्की प्रहरीले मालिक र चालकलाई नियन्त्रणमा लिएको म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले बेनीअनलाइनलाई बताए । ‘घटनालगत्तै सोही जीपमा पोखरा पु¥याइएको देखिन्छ,‘नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’ उनले भने ।

आइतबार करिव ४ बजेको घटनाका बारेमा प्रहरीले समेत अवेर जानकारी पाएको थियो । जीपको मालिक बागलुङ तारागाउँ र चालक अर्मनके दिपक सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा मापदण्ड विपरित जवरजस्ती यात्रु र सामान लिएर जोखिमपूर्ण यात्राको क्रम रोकिएको छैन् ।