ओमकुमारी शान्ति कोषलाई मोना नेदल्याण्डको ३ लाख सहयोग

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई नेदरल्याण्डमा रहेका म्याग्देलीले ३ लाख १ हजार आर्थिक गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्यामा परेका सर्वसाधारणको उपचारमा यूरोपेली मुलुक नेदरल्याण्डमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) नेदरल्याण्डमा आवद्ध रहेका म्याग्देलीले आजिवन सदस्यता मार्फत संकलन गरिएको आर्थिक मंगलबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

कोषको सचिवालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मोना आइसीका अध्यक्ष चक्र बहादुर थापा, मोना नेदरल्याण्डका अध्यक्ष जंग बहादुर पुन, उपाध्यक्ष सोम भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका थिए । गत कात्तिक महिनामा निजी खर्चमा यूरोप भ्रमणमा रहेका कोषका अध्यक्ष शाक्य, सचिव लोकेश पुन, कोषाध्यक्ष खम थापाको उपस्थितीमा गरिएको प्रतिबद्धता अनुसार मोनामा आवद्ध रहेकाले गरेको सहयोग हस्तान्तरणसंगै कोषले संरक्षक सदस्यता समेत प्रदान गरेको छ । कार्यक्रममा बोल्दै मोना आइसीका अध्यक्ष थापाले कोषसंग सहकार्य गरी जिल्लामा मानवीय अभियान सञ्चालन गर्ने बताए ।

उनले कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन सक्रिय भएकाले मोनामा आवद्ध रहेका संघसंस्थाले समेत सहयोग गर्ने बताए । सोही अवसरमा मोना नेदल्याण्डका अध्यक्ष पुनले गरिब तथा विपन्नको उपचारमा सक्रिय रहेको कोषका अभियानले मानवीय सेवामा लाग्न प्रेरणा मिल्ने बताए । ‘तपाईहरुको कार्यलाई उच्च सम्मान गर्छु,‘अभियानलाई भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाउँछु’ पुनले भने ।

कार्यक्रममा मोना कतारका पूर्व अध्यक्ष रेशम शाही, म्याग्दी उद्धार समितिका अध्यक्ष लोक बहादुर राम्जाली, सल्लाहकार छवि विश्वकर्मा, मोना आइसीका एशिया प्यासिफिक उपाध्यक्ष तारा बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो । १ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज भएको अध्यक्ष शाक्यले बताए । ‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,‘ १ सय जनाको उपचारमा सहयोग गरिसकेका छौ’ उनले भने ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कार्यक्रमको स्वागत तथा सञ्चालन संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए ।