मुक्तिमार्ग माविको ६० औ वार्षिक उत्सव

0

सन्तोष गौतम
घार ११ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा रहेको मुक्ति मार्ग माविले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६० औ वार्षिक उत्सव  मनाएको छ । विद्यालय परिसरमा समारोह, सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हो । सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको सामुदायिक विद्यालयमा प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न पहल गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाको माविमा टेलीटिचीङ र कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको जानकारी गराउदै सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गरेर विश्वास जित्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पुनले आफूले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुबिधा गरिब विपन्न विद्यार्थीको उच्च शिक्षा र समस्यामा परेका सामुदायिक विद्यालयलाई उपलब्ध गराउने जानकारी दिनुभयो ।वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको मुक्तिमार्ग शिक्षा क्याम्पसलाई प्राबिधिक शिक्षालयमा रुपान्तरण गर्नुपर्ने बताउदै शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा २०७४ को एसइई परिक्षामा सर्वोकष्ट जिपीए ल्याउने सुन्दर खड्कालाई तीन हजार र तीन दशमलब २ भन्दा बढी जिपिए ल्याउने १२ जनालाई दुई हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले गित, नृत्य र नाटक प्रस्तुत गरेका थिए । आर्थिक सहयोगदाताहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षता, शिक्षक ठगराज बरुवालको सञ्चालन र बिमल बरुवालले स्वागत गर्नुभएको कार्यक्रममा प्रअ मेखबहादुर खड्काले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य रामबहादुर खड्का, संरक्षक बहुदबहादुर बरुवाल, सल्लाहकार यामबहादुर खड्का, अगुवा खेमबहादुर खड्का र विद्यार्थी समिक्षा बरुवालले शुभकामना मन्तब्वय व्यक्त गर्नुभएको थियो ।