म्याग्दीको अन्न्पूर्ण गाउँपालिका ३ दानामा बुधबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

एनआरएनए नेदरल्याडका अध्यक्ष कमल वाइवाले ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधा र दन्त स्वास्थ्य सम्बन्धि चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।दाना र मराङमा शिविरि सञ्चालनका लागि एनआरएनए नेदरल्याड र मोनाले तीन लाख रुपैयाँ सहयोग गरेको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन ७५ जनाले सेवा लिएका मोना नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनले बताउनुभयो ।

शिविरबाट दाना, नारच्याङ, भुरुङ तातोपानी, शिख, घारका बासिन्दाले सेवा लिन आएका वडा अध्यक्ष नरसिङबहादुर पुर्जाले बताउनुभयो । दाँन्त परिक्षण, उपचार, परामर्श र निशूल्क औषधीको सुबिधा दिइने जनाइएको छ ।त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको जनाइएको छ ।

मोनाका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता, नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनको स्वागत र स्थानीय गंगा पुनको सञ्चालनमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । यसअघि सोमबार र मंगलबार मराङमा सञ्चालन भएको शिविरबाट १७० जना लाभान्वित भएका थिए ।