विपद्का लागि एक वार्ड एक हेलीप्याड अभियान

0
232

(लीलाधर अधिकारी)
प्रजिअ, म्याग्दी

नेपाल भौगालिक एवं प्राकृतिक रुपमा विश्वकै सुन्दर देश हो । उचाईको विविधता संगसंगै विकासका संभावनाले भरिएको यो मनोरम छटामा वेलावखतमा प्राकृतिक प्रकोपको कारण ठूलो जनधनको क्षति हुने गरेको छ । नेपालले भूकम्प, वाढी पहिरो, आगलागी, सडक दुर्घटना, हावाहुरी, चट्याङ्ग जस्ता प्रकोपका कारण विपदका ठूला घट्नाको सामना गर्नु परिरहेको छ । “विपद्” भन्ने शव्दले कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैर प्राकृतिक विपद्लाई जनाउछ । विपद् व्यवस्थापनले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभसंग सम्वन्धित सम्पूर्ण क्रियाकलापलाई जनाउँछ ।

नेपालको संविधानले विपद् व्यवस्थापनको महत्वलाई मध्यनजर गरी यसलाई सबै तहका सरकारको साझा जिम्मेवारीमा राखेको छ । विपदको स्तर अनुसार कतिपय स्थानीय तहमै ब्यवस्थापन गर्न सकिन्छ भने ठूलो विपदमा अन्तराष्ट्रिय समुदाय समेतको सहयो आवश्यक पर्न सक्दछ । यसको ब्यवस्थापनमा सवै क्रियाकलापहरुको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी प्राकृतिक र गैर प्राकृतिक विपद्वाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्नु पर्दछ । यसका लागि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसंग कामहरु समयमै गर्न पुर्वाधार निर्माण सहितका पुर्व तयारीका साथ प्रतिकार्य योजना बनाई अघि बढनु आजको प्रमुख आवश्यकता हो ।

मानिसको जीवन अमूल्य हुन्छ । कुनै पनि विपद् किन नहोस् त्यसको समयमैै प्रतिकार्य गर्न सकियो भने कम भन्दा कम क्षति हुन्छ । विपद प्रतिकार्य भन्नाले विपदको घट्ना घटना साथ तत्कालै गरिने खोज, उद्धार एवम् राहतसंग सम्वन्धित कार्यहरु पर्दछन र सो शव्दले विपद् प्रतिकार्यको पुर्वतयारीलाई समेत जनाउँछ । विपद् प्रतिकार्यमा खोज, उद्धार तथा राहत वितरणको कार्य शीघ्र, त्रुटीरहित र जोखिममुक्त वातावरणमा सम्पन्न गर्नु पर्दछ । खोज तथा उद्धार कार्यमा हरेक सेकेण्डको महत्व हुन्छ । २०७२ बैशाख १२ को भूकम्पको समयमा १६ जनाको जिवितै उद्धार गर्न सकियो । अब आउन सक्ने यस्ता विपदमा यो भन्दा वढी पनि उद्धार गर्न सकिने अवस्था हामीले ल्याउनु छ ।

भूकम्प पश्चात दोलखामा उद्धार गर्न गएको हेलिकप्टर विद्युतको तारमा ठोक्कीन जाँदा उद्धारकर्मीहरुको ज्यान गयो । त्यसैले खोज तथा उद्धारका कार्यलाई सावधानीका साथ सम्पन्न गर्नु पर्दछ । विपद् व्यवस्थापनमा खोज तथा उद्धार समूह वनाउने, तीनलाई प्रशिक्षित गर्ने र उद्धार सामग्री सहित उद्धारकर्मी परिचालन गराउनु पर्दछ । खुला स्थानको त्यत्तिकै जरुरी हुन्छ । प्राथमिक उपचारले दुर्घटनामा परेकाहरुको ज्यान समेत वचाउने र घाईतेको पुनलार्भ भई थप जोखिम हुनवाट जोगाउँछ । यस लेखमा म्याग्दी जिल्लाले विपद् व्यवस्थापनको खोज, उद्धार तथा राहत वितरणको कार्यलाई व्यवस्थित वनाउन अघि सारेको ‘एक वार्ड ः एक हेलीप्याड’ अभियानको आवश्यकता र औचित्य वारे स्पष्ट पार्न कोशिस गरिएको छ।

नेपालको विशिष्ट भूगोल : हेली यात्राको अत्यावश्यकता

नेपालमा म्याग्दी जस्ता उच्च पहाडी तथा हिमाली भूभाग भएका जिल्लामा दुर्गम भेगमा सुन्दर वस्तीहरु छन् । मनोरम हिमश्रृखंलाका आधार शिवीर र पदमार्ग छन् । एउटा वडा वाट अर्को वडासम्म जान घण्टौ लाग्ने ठाउँहरु छन् । ती सून्दर पर्यटकीय गाउँ, वस्ती तथा पदमार्गमा वेलावखतमा विपद्का घटना घट्ने र समयमा खोज तथा उद्धार गर्न कठिनाई हुने गरेको छ । सडक मार्गको पहुँच छैन, भएपनि घण्टौ समय लगाएर घटनास्थलमा पुग्नु पर्ने अवस्था छ ।

सुन्दर वस्तीहरुमा वाढी पहिरो, आगालागी, नयाँ निर्माण भएका कठिन सडकमा दुर्घटना हुँदा खोज र उद्धारमा ढिलाईका कारण धेरैको मृत्यु हुने गरेको छ । समयमै सुविधायुक्त अस्पतालमा पु¥याउन यस्ता विपद्का प्रभावित घाईतेहरु, प्रसव वेदनामा रहेका गर्भवती महिलाहरु, आकस्मिक विरामीलाई पु¥याउन एउटै भरपर्दो साधन हेलीकप्टर हुनसक्ने देखिन्छ । विपद् कतिवेला, कुन ठाउँमा, कसलाई प्रभावित हुने गरी आउँछ त्यस्को अनुमान गर्न कठिन छ । त्यसैले विपद्का घटनाको भरपर्दो पूर्वतयारीका लागि उचित स्थानमा हेलीप्याड निर्माण गरी हिमाल र पहाडको जोखिम व्यवस्थापनमा सहजता ल्याउन सकिन्छ । हिमाली र पहाडी जिल्लामा हरेक वार्ड र संभव भए वस्तीमा एक हेलीप्याड वनाएर विपद्को भरपर्दो पुर्वाधार निर्माणको एक खुड्किलो पार गर्न सकिन्छ ।

प्रभावकारी खोज तथा उद्धारको लागि हेलीप्याड

विपद्को घट्ना हुनासाथ सूचना प्रणाली मार्फत सम्वन्धित निकायमा खवर पुग्नासाथ तत्काल खोज तथा उद्धार टोली लिई हेलीकोप्टर विपद् स्थलमा पुग्न सहजताको लािग हरेक वार्डमा हेलीप्याडको निर्माण आवश्यक छ । विपद् स्थलभन्दा टाढा रहेका स्थानहरुमा अवतरणको ठाउँ खोज्दाखोज्दै ढिलाई भैसकेको हुन्छ । कहाँ अवतरण गराउने भन्ने वारेमा निर्णय गर्न हुने ढिलाई, अवतरणको लागि क्याप्टेनले यो र त्यो ठाउँ खोज्दै सुरक्षित ठाउँ खोज्दा हुने ढिलाई, घाइतेहरुलाई थप उपचारको लागि कुन स्थानवाट उडान भर्ने भन्ने विषयमा हुने ढिलाई जस्ता ढिलाईहरुलाई हटाई समयमै खोज तथा उद्धारको टिम परिचालन गर्न हेलीप्याड निर्माणले सहजता ल्याउने छ ।

यसै बर्ष म्याग्दी जिल्लाको मनोरम गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली र नेपालीहरु आधार शिबीरमा हिमआँधिमा परि मृत्यु हँुदा ब्यवस्थित हेलीप्याड नहुँदा खोज तथा उद्धार कार्यमा केहि ढिलाई भएको उदाहरण हामी सामु छ । हिमाली भेकको पर्यटनलाई सुरक्षित र भरपर्दो बनाउन हेली रेस्क्युको प्रवन्ध अत्यावश्यक छ । हेलीप्याड निर्माण पछि विपद् पश्चात्को खोज र उद्धारको Work Flow Chartपनि स्पष्ट भई प्रभावकारी खोज तथा उद्धारमा Just in time system लागु गर्न सकिन्छ ।

राहत वितरणको कार्यलाई सहज वनाउन हेलीप्याड

भनिन्छ, विपद्को आहतमा परेकालाई छिटो राहत पु¥याउन सकिएमा नै विपद प्रभावितहरुको राज्य प्रतिको विश्वास वढ्छ। दुर्गम हिमाली र पहाडी भेगमा दर्जनौको संख्यामा परिवार विपद्मा परे भने राहत पु¥याउन कम्तिमा M I – 17 जस्तो क्षमताका हेलीकोप्टर अवतरण गराउन सकिने हेलीप्याड आवश्यकता देखिन्छ । २०७३ मा धादिङको रि को चेप्राङमा पहिरो जाँदा प्रभावितहरुको वस्ती नजिकै जान सकिएन तर केहि घण्टा तल भूकम्प पश्चात् निर्माण गरेको हेलीप्याडमा तत्कालिन धादिङ जिल्लाका प्र.जि.अ. महेश आचार्य सर र M I – 17 मा राहत सामग्री लिएर गयौं । धादिङमै अर्को घटनामा हेलीप्याड नजिकै नहुँदा राहत सामग्री सानो हेलीकोप्टरमा लैजाँदा राहत सामग्री पु¥याउन दुई दिनसम्म उडान भर्नु प¥यो । यसले के देखाउछ भने राहत सामग्रीलाई समयमा पु¥याउन व्यवस्थित हेलीप्याडले सहजता ल्याउँछ । खर्चमा पनि कमी आउँछ । समयमा राहत पु¥याउन सकिन्छ ।

खुला स्थानको आवश्यकता पुरा गर्न हेलीप्याड

विपद्को समयमा प्रभावितहरुलाई खुला र सुरक्षित स्थानमा राख्नु पर्ने हुन्छ । २०७२ बैशाख १२ को भूकम्प पश्चात् गएका पराकम्पन र संकटासन्न अवस्थामा खुलाचौरका महत्व प्रष्टै देखियो । कहाँ टेण्टको व्यवस्था गर्ने ? सुरक्षित र भयमुक्त वातावरण कसरी सिर्जना गर्ने भन्ने सवाल अघि आउछ त्यस घडीमा । त्यस्तो समयमा निर्माण गरिएका हेलीप्याडलाई खोज, उद्धार र राहत वितरण कार्य मात्र हैन, सुरक्षित स्थानको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

आकस्मिक तथा जटिल विरामीको उपचारको लागि हेलीप्याड

विश्वब्यापी रुपमा हेलीकोप्टरको प्रयोग स्वास्थ उपचारको लागि उद्धार Medical Evacuation को लागि ब्यापक रुपमा हुने गरेको छ । सडक दुर्घटना, आकस्मिक रुपमा हुने विरामी जस्तैः हाई अल्टीच्युड, श्वास प्रश्वास, सुत्केरी हुने अवस्थाका विरामीलाई सेकेण्ड भर पनि ढिला नगरी सुविधायुक्त अस्पताल पु¥याउन यस्ता हेलीप्याड वार्ड वार्डमा हुँदा सहजता हुनेछ । नेपालमा पनि त्रि.वि. शिक्षण अस्पताल, ग्राण्डी हस्पीटल लगायतका अस्पतालमा हेलीप्याड निर्माण गरिएको छ । अन्यमा पनि यस किसिमको पूर्वाधारको आवश्यकता देखिएको छ । नेपाल सरकारले आमा बचाउन प्रसव बेदनामा रहेका र जोखिम अवस्थामा रहेका गर्भवति तथा सुत्केरीको हेली उद्धारमा बजेट विनियोजन गरि राम्रो कामको थालनी गरेको छ । यसले बस्ती तथा स्वास्थ्य संस्था नजीक गाँउ गाँउमा हेलीप्याड बनाउनु पर्ने आवश्यकता बढेको छ । स्वास्थ्य संस्थाको र वस्तीको पायक पर्ने स्थानमा हेलीप्याड निर्माण गरिदाँ प्राथमिक उपचार पश्चात् सुरक्षित अवस्थामा विरामी तथा घाईतेलाई उपयुक्त अस्पतालमा रिफर गर्न सहजता ल्याउछ । मानवीय क्षतिको र थप स्वास्थ्य जटिलतामा कमी ल्याउन सहज हुन्छ ।

हवाई यात्राको जोखिम न्यूनीकरणको लागि सुरक्षित हेलीप्याड

सुरक्षितअवतरण र उडान भरी विपद्मा हेलीकोप्टरको प्रयोग उपयोगी सिद्ध हुदै आएको छ । तर उद्धार, खोज, राहत वितरणमा भरेका उडानहरुनै जोखिममा परेको उदाहरण माथि उल्लेख भैसकेको छ । यसमा हेलीप्याडको अवस्थिति वारेमा क्याप्टेन÷पाईलटलाई पुर्व जानकारी भए पश्चात् सुरक्षित उडान गर्न सहजता आउने छ । मौसमको पुर्व जानकारी लिन समेत सहज भई जोखिम न्यूनीकरण गर्न सकिन्छ । ब्यवस्थित हेलीप्याड नहुँदा धुलैधुलो उड्दा गुर्जा हिमालको आधार शिबीरका मृतक पर्वतारोहीको शव बेनी बजारमा रहेको खुला चौरमा अवतरण गराउन सकिएन । अस्पतालबाट अलि टाढा रहेको नेपाल सेनाको अर्थुगे स्थित गुल्म परिसरको हेलीप्याडमा गराउनु पर्यो । हेलीकोप्टरको सुुरक्षित अवतरण मात्र नभई प्राविधिक समस्या नआवोस भनि पाईलटले धुलोमा अवतरण गराउन गाह्रो हुने रहेछ ।

समयको महत्व÷अत्यावश्यकता

मौकामा हिरा फोर्न वेमौकामा कौडी नछोड्नु भनाई नै छ । सडक यातायातभन्दा हवाई यात्रा महँगो पर्दछ । तर कतिपय अवस्थामा समयको पावन्दी र शीघ्रताको आवस्यकता पर्दछ । ढिलाइ गर्दा हुने क्षति अपुरणीय हुन सक्छ । पैसाले ज्यान किन्न सकिदैन, खर्च व्यवस्थापन प्राथमिक भन्दा द्वितियक विषय हुन्छ विपद्मा ।

गैर विपद्का सामाजिक सांस्कृतिक गतिविधि संचालनमा खुला स्थानको उपयोगिता 

दुर्गम वस्तीमा निर्माण गरिएका हेलीप्याडलाई सुन्दर वनाई सांस्कृतिककार्यक्रम स्थल, पिकनिक स्थल, साना Camping, खेलकूद गर्ने स्थानको रुपमा समेत प्रयोग गर्न सकिने देखिन्छ । यसले हेलीप्याड निर्माणको वहुउपयोगिता समेत देखिन्छ । हवाई यात्राको माध्यमबाट हवाई पर्यटनको प्रवद्र्धन गर्न पनि सकिन्छ ।

कस्तो ठाउँमा हेलीप्याड वनाउने

हेलीप्याड निर्माण खुला स्थानमा बनाउनु पर्दछ । पर्याप्त स्थानको आवश्यकता हुन्छ । स्वास्थ्य संस्था र बस्तीबाट पायक पर्ने ठाउँमा हेलीप्याड निर्माण गर्नु पर्दछ । विजुलीको तार, ठूला रुखहरु तथा अवरोध नभएको ठाउँमा स्थान छनौट गर्नु पर्दछ ।

म्याग्दी जिल्लामा अभियान

म्याग्दी धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, चुरेनजस्ता सुन्दर हिमाल तीनका आधार शिबीर सम्म पुग्ने सुन्दर पर्यटकीय मार्ग भएको जिल्ला हो । घोडेपानी, पुनहिल, खोप्रा लेक, रुप्से झरना, विश्वकै गहिरो अन्ध गल्छी, रुइसे, टोड्के, मालिका धुरी, निस्कोट बराह ताल, लभ्ली हिल जस्ता दर्जनौ भ्यू प्वाईन्ट भएको जिल्ला पनि हो । गुर्जा, ताकम, मुदी, विम, रुम, हिस्तान, शिख, घार जस्ता सुन्दर बस्ती लोभलाग्दा छन यहाँ । अन्नपूर्ण पदमार्गको घोडेपानी नजिकैको विश्वमै प्रख्यात लालीगुराँसको जंगल होस या टोड्के भ्यूप्वाईन्टको मनोरम गुराँसे बन, जो कोही पनि मोहित हुन्छन । धार्मिक र ऐतिहासिक रुपमा पनि म्याग्दी शिखरमा नै पर्दछ । विश्वकै अलौकिक तिर्थ गलेश्वर धाम, पुलस्य आश्रम, जगन्नाथ मन्दीर, महारानी थान जस्ता पवित्र स्थानले धार्मिक पर्यटनको संभावना त्यत्तिकै छ । नेपालमा मात्र नभै विश्वमै महत्व राख्न सक्ने प्राकृतिक तातोपानीहरुलाई ब्यवस्थित गर्न सकिएमा मेडिकल टुरिजमको प्रचुर संभावना छ, म्याग्दीले ।

६ वटा स्थानीय तहहरु रहेको म्याग्दीमा सबै वडाहरुमा हेलीप्याड निर्माणको लागि जनप्रतिनिधिहरुले हेलीप्याड निर्माणको लागि उपयुक्त स्थान खोज्ने काम भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिबाट निर्र्णय भई सुरु गरिएको यो अभियानलाई सफल बनाउन स्थानीय तहका कार्यपालिकाले समेत प्राथमिकतामा राखि निर्णय गरि अघि बढेको अवस्था छ । तीन बर्षभित्र सम्पन्न गरिसक्ने यो अभियान शुरु भएको दुई महिना भित्रै रघुगंगा गाउपालिकाको पाखापानी, मंगला गाँउपालिकाको कँुहँु र हिदी र त्यसैगरि मालिका गाउँपालिकाको रुम र देविस्थान गरी पाँच वडामा सशस्त्र प्रहरी बलले स्थानीयसँगको साझेदारीमा हेलीप्याड निर्माण भैसकेको छ ।

सशस्त्र प्रहरीबाट थप वडामा हेलीप्याड निर्माण गर्दैछ । त्यसै गरी, नेपाली सेनाले माघ महिनामा स्थानीय तहसँग समन्वय गरि थप हेलीप्याड निर्माण गर्ने र अर्थुगे गुल्म परिसर भित्र रहेको हेलीप्याडलाई रात्री समयमा पनि संचालनमा ल्याउन सक्ने गरि स्तरोन्नति गर्ने कार्य अघि बढाएको छ ।हेलीप्याड निर्माण त्यति खर्चिलो छैन । हेलीप्याड निर्माण करिब ३० हजार देखि २ लाखसम्म लाग्न सक्दछ । भिरालो जग्गालाई विकास गरी सम्याउनु पर्ने भएमा २ लाखसम्म बजेट आवश्यक पर्न सक्दछ ।