संकटमा डिम्ब आधारभूत विद्यालय ! जाडोयाममा पनि भुईमै पढ्छन् विद्यार्थी

0

विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।

यस्तै समस्या झेलिरहेको छ, म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा अवस्थित डिम्ब आधारभूत विद्यालय । जिल्ला सदरमुकामदेखि नजिकै र नगरपालिका भित्रको विद्यालयले आवश्यक मात्रामा शिक्षक दरबन्दी नपाउनु, आर्थिक अभाव, फर्निचर तथा पूर्वाधारको कमीका कारणले गर्दा विद्यालय सञ्चालनमा समस्या भैरहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएको छ ।

विद्यालय तह अनुसार कम्तीमा पनि १ देखि कक्षा ५ सम्मको विद्यालयमा ४ जना शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि हाल ३ जना मात्रै हुँदा अध्ययन अध्यापन तथा विद्यालयको दैनिक कार्यसम्पादनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गुनासो गरे । चिप्लेटी गाउँको मध्य भागमा रहेको विद्यालयमा बालशिक्षा सञ्चालनको टड्कारो आवश्यकता रहेपनि सम्बन्धित संस्थाबाट कोटा सहयोग नहुँदा त्यसमा पनि समस्या उत्पन्न भएको उनले गुनासो पोखेका छन्।

प्रअ पौडेलका अनुसार अनुमति नपाए पनि विद्यालयको चाहना र आवश्यकता अनुसार बाल शिक्षाको कक्षा सञ्चालन गरिएको छ । हाल उक्त विद्यालयमा बाल शिक्षाको कक्षासहित ५ सम्म कुल ४६ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । विद्यार्थी सङ्ख्या अनुसार कुनै किसिमको आवश्यक सहयोग नभएको हुँदा समस्या झन् बल्झिँदै गैरहेको छ । विद्यालयको जनप्रतिनिधि, स्रोतव्यक्ति र अन्य सरोकारवाला निकायले अनुगमन र निरीक्षण पनि गर्न सकेका छैनन् ।

अहिले उक्त विद्यालयमा निजी स्रोतका दुईजना शिक्षकहरु भर्ना गरिए पनि आर्थिक स्रोतको अभावले समस्या झन् थपिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । मासिक १८ हजार रुपैयाँका दरले शिक्षकको तलब÷भत्ता व्यवस्थापन गर्नुपर्ने भए पनि विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन ।

स्थानीय तह नगरपालिका र वडा कार्यालयले समेत आर्थिक रुपमा कुनै सहयोग गर्न सकेका छैनन् । जिल्लाका अन्य ठाउँमा रहेका विद्यालयहरुमा पक्की भवन र पुस्तकालयको कार्यक्रम पर्दा पनि अहिलेसम्म यस विद्यालयमा भवन र लाइब्रेरीको कार्यक्रम परेको छैन ।२०७२ सालमा आएको विनाशकारी भूकम्पले विद्यालय भवन चर्किएको र ग्राउण्ड भासिँदै गएपनि भूकम्प प्रभावितको सुचीमा सुचीकृत नहुँदा पूनर्निर्माण प्राधिकरणको सहयोग लिनबाट बञ्चितीमा परेको छ ।

विद्यालयमा खेलकुदका सामग्रीहरु नहुँदा विद्यार्थीहरु खेल खेल्नबाट बञ्चित भएका छन् । यसका साथै विद्यालयमा व्यवस्थित खानेपानी, बालशिक्षाका खेलौना, साउण्ड सिस्टम, डिक्सनरी, ग्लोब, डस्टबिन, बाल्टिन, बालशिक्षाका लागि एबिसिडी, कखगघ, चराचुरुङ्गी र जनावरहरु अङ्कित पोष्टर एवं पम्पलेट नहुँदा पठनपाठन प्रभावकारी हुन नसकेको प्रअ पौडेलको भनाइ छ । विद्यार्थी सङ्ख्या अनुसारको आर्थिक स्रोतको सहयोग तथा उपलब्ध नहुँदा समस्या भएको हो ।