विदेशीको मुक्तकण्ठले प्रशंसा गर्ने, लभ्लीहिलमा फोहोर फाल्ने

0

रसियामा सम्पन्न विश्वकप फुटबलमा आफ्नो देश पराजित भएपनि रगंशालाभित्र सरसफाई गरेर जापानी विश्वभर चर्चामा आए । धेरै नेपालीले पनि जापानीको सरसफाई प्रतिको सचेतनालाई प्रशंसा गदैं न्यूज सेयर, कमेन्ट समेत गरे । तत्कालिन समयमा विश्वकपका रौनताले छपक्कै छोपेको म्याग्दीमा पनि आँसुमा डुबेका जापानी समर्थकको मुक्तकण्ठले प्रशंसा गरिएको थियो। विदेशीले फोहोर ब्यवस्थापनको चर्चा गर्ने नेपालीले भने घुम्न गएको बेलामा पर्यटकीयस्थलमा आफुँले प्रयोग गरेको पानीको बोतल, अन्य साम्रागीलाई फ्याँकेर महान बन्ने गरेका छन् ।

यस्तै एउटा उदाहरण बनेको छ नयाँ पर्यटकीय गन्तब्य लभ्लीहिल । सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिलमा घुम्न जानेले गरेको फोहोरले लभ्लीहिल कुरुप बन्दै गएको छ । दैनिकजसो पैदल तथा सवारीसाधनमा पुग्नेले आसपासमा फालेको फोहोरको डंगुरले पर्यटकीय गन्तब्य नै मिनी डम्पिङ साइडको रुपमा परिणत हुन थालेको छ ।

बेनीको शीरमा अवस्थित लभ्लीहिलमा लायन्स क्लव अफ बेनी पिससिटीले करिव २५ हजार मुल्य बराबरकाु फ्रेम सहित कुहिने र नकुहिने गरी दुईवटा डस्विन, स्थानीय प्रदिप सापकोटा फोहोर ब्यवस्थापनका लागि उपलब्ध गराएका साम्रागीमा आगो लगाइएको छ । गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च आसपासका क्षेत्रमा पलाष्ट्रिकजन्य फोहोर,मदिराका बोत्तल यत्रतत्र फालिएको छ ।

सिसाका बोटल समेत फालिएको ठाउँमा आवतजावत गर्न समेत मुस्किल हुन्छ । ‘घुम्न आउनेले सरसफाई सम्बन्धि केही जानकारी नभएजस्तो गर्दछन्,‘उनीहरुले गरेका गतिविधिलाई नियन्त्रण गर्न सकिएकै छैन’ स्थानीय चन्द्रबहादुर कार्कीले भने ।उनले यूवापुस्ता देखि बृद्धबृद्धासम्मलाई फोहोर नगर्न गरिएको अनुरोधलाई अटेर गदैं मनपरी फोहोर गरेर फर्किने गरेको बताए ।केहीले गरेको गतिविधिले लभ्लीहिलमा घुम्न आउने सबैलाई फोहोर नगर्नु भन्दै सिकाउनुपरेको बताए । ‘विदेशबाट आएकाहरुले सरसफाई गरे, उतै गरेको कामको प्रशंसा गर्ने नेपालीले यहाँ आएर फोहोर गर्दछन’ उनले भने ।
एकजना कर्मचारी नै खटाउनुपर्ने अवस्था आएको बताए ।

गोलघर (भ्यु प्वाईन्ट) आसपासमा धेरै फोहोर भेटिन्छ । फोहोर संकलन गर्न जाँदा समेत ज्यानकै बाजी लगाउनुपर्ने अवस्था रहेको बताउँदै कार्कीले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन अनुरोध गरे । उनले लभ्लीहिलमा पूर्वाधार विस्तारका लागी पुगेका बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई समेत फोहोर ब्यवस्थापनमा देखिएको समस्याका बारेमा जानकारी गराएका थिए । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरुका साथै संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।