म्याग्दीमा राजनीतिक दलका स्थानीय नेताको प्रभावमा नक्कली भुकम्प पीडितले अनुदान बुझेका छन् । राजनीतिक दलको पहुँचमै सामान्य भूकम्प पीडितले पनि अनुदानमा पकट जमाएका छन् । तर, केही वास्तविक भुकम्प पीडितको नजरमा न तर सरकारी अनुदान पुगेको छ न स्थानीय जनप्रतिनिधले नै राहतका लागी पहल गरेका छन् ।

सरकारी कर्मचारीले तथ्याङ्क संकलनमा देखाएको लापरवाहीले बेनी नगरपालिका–५ बगुवाखोलाममा एक परिवार भूकम्पले भत्किएपछि छिमेकीको शरणमा रात विताइरहेका छन् । २०७२ बैशाख १२ गतेको भूकम्पले दुईतलेको चर्किएपछि जोखिम मोलेर बस्दै आएका शिव कार्कीको परिवारले सरकारी निकायबाट सहयोग नपाएपछि छिमेकीको छाप्रोमा बस्न थालेका छन्।

भूकम्पले क्षती पुगेको विवरण संकलन गर्न आएका स्वयमसेवक तथा सरकारी कर्मचारीले समेत सहयोगको आश्वासन दिएपनि राहत प्राप्त नगरेको स्थानीय बीर बहादुर बानियाँले बताए । ’उहाँको घर भूकम्पमै भत्किएको तथ्याङक लिएर गएका थिए,‘धेरै प्रयास गर्दा पनि कर्मचारीले सुनेनन्’ उनले भने । भूकम्पबाट प्रभावित भएकालाई अनुदान वितरण भइरहेको अवस्थामा कार्कीको परिवारले जिल्ला प्रशासनबाट १० हजार बाहेक एक रुपैयाँ पनि प्राप्त नगरेको उनले बताए । ‘दिनभर काम नगरे खानु छैन । बास्तविक पीडित नै सरकारी सुविधाबाट बन्चित भएका छन्’ उनले भने ।

भूकम्पले ढुंगामाटोको दुईतले घरको माथिल्लो भाग भत्किएपछि जोखिम मोलेर बसेका कार्कीको परिवारलाई भत्किएर मानवीय क्षती हुने भन्दै छिमेकी शिव थापाको छाप्रोमा सारिएको थियो । थापाले समेत बस्ने ब्यवस्था मिलाएपनि कार्की परिवारको आर्थिक अवस्था कारण घर पुननिर्माणमा समस्या भइरहेको छिमेकीले बताए । चारजनाको परिवारलाई दैनिक ज्यालामजदुरी गरेको कमाईबाट पाल्दै आएका छन् ।कार्कीका श्रीमान, श्रीमति बोल्न नसक्ने भएकाले पनि तथ्याङ्क संकलनको बेलामा कर्मचारीले बेईमानी गरेको स्थानीयको गुनासो छ ।

बेनी–दरवाङ सडकखण्डमै रहेको घरको कुनैपनि बेला भत्कन सक्ने भन्दै स्थानीयले तत्काल ब्यवस्थापन गर्न अनुरोध गरेपनि आर्थिक अभावले कार्की परिवारले अलपत्र छोडेका छन् । वडास्त्रमा संकलन गरिएको विवरणमा समेत उनल नाम दिएपनि छुटेपछि अहिले घर मर्मतमा आर्थिक अभावले समस्यामा परेको बताएका छन् । यता राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ म्याग्दीबाट ८६८ जना लाभग्राही मध्ये ७८३ जनाले पहिलो किस्ता लगेका छन् । आवास पुननिर्माणको लागि सम्झौता गरि पहिलो किस्ता लगेको मध्ये २८१ जनाले दोस्रो र आवास पुननिर्माणलाई सम्पन्न गरि १५१ जनाले मात्रै अन्तिम किस्ता भुक्तानी लिएको इकाईले जनाएको छ ।