गाउँमै परिचयपत्र पाएपछि ओखरबोटका जेष्ठ नागरिक दंग

0
224

जिल्लाको मालिका गाउँपालिका वडा न. ४ ओखरबोटका जेष्ठ नागरिकले गाउँमै परिचयपत्र पाएपछि उत्साहित भएका छन्। परिचयपत्रको अभावमा उपचार तथा यातायातको साधनमा हुने छुट लगाएतका सेवासुविधाबाट बन्चित भएका बृद्धबृद्धाले शुक्रबार आयोजित शिविरमा पुगेर परिचयपत्र लिएका थिए ।गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविर मार्फत १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो ।

जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप तीन जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ ।

अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले वडा न. १ निस्कोटबाट बिहीबारदेखि परिचयपत्र वितरण सुरु गरेको थियो । ७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने मालिका गाउँपालिकाले जनाएको छ ।