‘सुन्तला खान भकिम्लीको राखु जाऔं

0

बेनी नगरपालिका–३ भकिम्ली राखुका कुल बहादुर गर्बुजाले दुई महिना अगाडी स्थानीय मनकुमारी पुनलाई विक्री गरेका सुन्तला बगैचामा १९ जना कामदारले धमाधम सुन्तला टिप्दैछन् । करिव दुई रोपनी जमिनमा सुन्तला खेती गरेका गर्बुजाको विगत तीनबर्ष यता बगैचामै पैसा बुझ्ने गरेका छन् । गर्बुजाजस्तै जसिकला रोकाले पनि बगैचा बेचिन् । गर्बुजा र रोका जस्तै गाउँका ६५ घरधुरीले घरदैलोबाटै सुन्तला विक्री गरेका छन् ।

केहीबर्ष अगाडीसम्म मान्छे र खच्चडबाट ढुवानी गर्ने गरेका स्थानीयले सडक सञ्जालले जोडिएपछि पोखरा,काठमाण्डौबाट आएका ब्यापारीले दुई महिना अगाडी नै बगैचा बुकिङ्ग गरी पेश्की दिन थालेपछि खेतबारी, खोल्साखोल्सी, खेर गएको जमिनमा समेत धमाधम सुन्तला खेती गर्न थालेका छन् ।‘सुन्तला बेचेर राम्रो कमाई भइरहेको छ,‘जग्गाजमिन समेत जोड्न सफल भएको छु’अगुवा कृषक गर्बुजाले भने ।

उनले हरेक बर्ष नयाँ बिरुबा विस्तार गरेपनि जग्गाको अभावले समस्या भएको बताए।‘घरको आगनमै सुन फलेको छ,‘एक रुपैयाँ पनि ऋण छैन,छोराहरुलाई पनि भविस्यमा सुन्तला खेती गर्न मिल्ने गरी विस्तार गरेको छु’ गर्बुजाले भने ।विगतमा बाहिरी जिल्लाबाट आएका ब्यापारीले कृषकबाट सस्तोमा खरिद गरी महंगोमा बिक्री गर्न थालेपछि कृषकलाई उचित मुल्य दिन आफुँले खरिद गरेको स्थानीय अगुवा कृषक मनकुमारी पुनले बताईन् ।‘गाउँका कृषकलाई नै फाईदा हुने गरी ठूला सबै बगैचा खरिद गरेको छु,‘सुन्तला टिप्न स्थानीयलाई नै रोजगारी दिइएको छ’ उनले भनिन् ।

कृषकको सुन्तला बगैचा खरिद गरेपनि समयसमयमा रेखदेख तथा आवश्यक प्राविधिक सहयोग समेत गर्ने गरेको बताईन् । उनले कृषकलाई सुन्तला बोटमा देखिएको समस्याका बारेमा जानकारी गराउँदै औषधी उपचारका लागी समेत सहयोग गर्ने बताईन् । वडा सदस्य समेत रहेकी पुनले बगैचामै प्रतिकेजी ५० रुपैयाँ दिएको बताईन् । उनले एक कृषिकले १० हजारदेखि ३ लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिईन् । कृषकले भनेजस्तो मुल्य दिएपछि यसबर्ष गाउँमै सुन्तलाको विरुवा उत्पादन गरी अन्य अन्नबालीलाई समेत विस्थापित गरी सुन्तला खेती विस्तार गरेको उनको भनाई छ । गाउँभरी करिव ४ हजार नयाँ विरुवा समेत विस्तार गरिएको छ ।

गाउँमा सबैभन्दा धेरै सुन्तला विक्री गरेका उनले विगतमा घरको प्रयोजन र आफन्तलाई कोसेली लैजान घरबारी र आसपासका क्षेत्रमा लगाएका सुन्तलाहरूले धमाधम बजार पाउन थालेपछि केहीबर्ष यता ब्यवसायीक सुन्तला खेतीमा सक्रिय भएका थिए । स्थानीय जातका सुन्तलाको बजार अत्याधिक रहेकाले ब्यापारीहरू विच बगैजामै मुल्यमा प्रतिस्पर्धा हुन थालेपछि कृषक उत्साहित भएका छन् । सुन्तला खेतीमा आर्कषित भइरहेको अवस्थामा जिल्लास्थित सरकारी निकायबाट प्राप्त हुने अनुदान तथा सहयोगलाई प्रभावकारी बनाउन सकेमा बार्षिक ५० देखी ७० लाखसम्मको सुन्तला निर्यात गर्ने सकिने स्थानीय डेक बहादुर घर्तीले बताए ।

‘सिंगो गाउँ नै सुन्तला खेतीमा आर्कषित छ,‘सुन्तलाको बोट नभएका एक घर पनि छैनन्’ घर्तीले भने । उनले सुन्तला खेती नगर्ने कृषकलाई समुदायबाटै पहल गर्ने गरिएको बताए । सडक अभावका कारण बारीमा फलेको सुनलाई समेत सहजै बजारसम्म पु¥याउन असफल भएका स्थानीयले आफ्नो घरको लालपुर्जा, सांसद विकास कोष, कृषकले आफ्नो गरगहनालाई समेत वित्तिय संस्थामा धितो राखेर सडक विस्तार गरेका थिए ।

सुन्तला उत्पादनमा सक्रिय रहेका महिलाले समेत ब्यापारीहरू बिचको प्रतिस्पर्धाबाट आम्दानी बढाउन सफल भएका छन्। श्रीमान बैदेशिक तथा अन्य पेशामा आवद्ध भइरहेको अवस्थामा महिलाले सुन्तला विक्री गरेर घरायसी खर्च, छोराछोरीको पढाईमा सुन्तलाबाट प्राप्त आम्दानीले सहज भएको कृषकको भनाई छ । राखुमा यसबर्ष करिब ३५ लाख भित्रिने अनुमान गरिएको छ । स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका पनि स्थानीय बजारमा समेत उच्च माग छ । राखुको सुन्तला सिधै पोखरा, काठमाण्डौको बजारमा पुग्ने गरेको छ ।

यसैबीच जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला बिक्री हुने कृषि ज्ञान केन्द्र म्याग्दीका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताए। ‘स्थानीय तहले सुन्तलाका पकेट क्षेत्रमा सक्रियता देखाएका छन्,‘हरेकबर्ष उत्पादन बढ्दै गएको छ’ थापाले भने । उनले ज्ञान केन्द्रले स्थानीय तहसंग सहकार्य गरी पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानी गर्ने कार्टनुमा अनुदानका गतिविधिलाई अगाडी बढाउने बताए । यसबर्ष बार्षिक १६ करोडको सुन्तला विक्री हुने अनुमान गरिएको केन्द्रले जनाएको छ ।