बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरमा एकबर्षको अवधिमा ५ लाखभन्दा धेरै धार्मिक पर्यटकले भ्रमण गरेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारको रुपमा चिनिएको मन्दिरमा दर्शन गर्ने भक्तजनको चाप बढ्दै गएको बताइएको छ ।

शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १३ औ कार्यकारी सभा तथा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको आठौ वार्षिक साधारणसभाको अवसरमा धार्मिक गन्तब्यको रुपमा चिनिएको मन्दिरलाई थप पूर्वाधार विस्तारमा राज्यका निकायबाट समेत बजेटको आवश्यकता रहेको अध्यक्ष रुद्ध बहादुर केसीले बताए । उनले कालिण्डकी नदीबाट मन्दिर परिसरमै जल ल्याएर धारा बनाइने लगाएतका भक्तजनलाई सहज हुने पूर्वाधार विस्तार गरिने बताए ।

साधारणसभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारदर्शीता र व्यवस्थापनका हिसाबले गलेश्वर देशकै नमुना धार्मिकस्थल भएको बताए । वडा अध्यक्ष बेलबहादुर चोखालले गलेश्वरलाई अझै व्यवस्थीत गरेर प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए । कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष भिमनाथ पराजुलीको स्वागत मन्तब्य र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राममन्दिर क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

साधारणसभामा अध्यक्ष केसीले कोषको गतिबिधि र सदस्य सचिव रेग्मीले प्रगति कोषाध्यक्ष बमबहादुर पुनले चालु आर्थिक वर्षको हालसम्म अल्या सहित दुई करोड पचास लाख ५६ हजार ६२० रुपैयाँ आम्दानी र २२ लाख ५९ हजार ९४ रुपैयाँ खर्च भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच कोषका गतिविधिमा सहयोग गर्ने न्यू वेष्ट पोइन्ट आवासीय मावि सामुदायीक प्रहरी सेवा केन्द् बेनी, मौवाफाँट, गलेश्वर, बेनी, बगरफाँट, चिमखोला मगर समाज र कालिगण्डकी आमा समुह बेनपा ८ लाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरी नायक उपरिक्षक बिरबहादुर बुढा मगर कोष अध्यक्ष रुद्र बहादुर केसीले सम्मान पत्रले सम्मान गरेका थिए ।