भुपु सैनिक सहकारीद्धारा चार विद्यार्थीलाई छात्रबृत्ती प्रदान

0
250

सदरमुकाम बेनीमा सञ्चालित एक सहकारीले चारजना अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ। भुपु सैनिक बचत तथा ऋण सहकारीले१३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार म्याग्दी बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायको प्रथम बर्षमा अध्ययरतसोमप्रसाद सापकोटा, कक्षा ११ मा अध्ययरत विशेष केसी, रघुगंगा गाउँपालिका–६ पाखापानी स्थीत अमर माविमा कक्षा १० मा अध्ययरत आविश्कार पाइजा र कक्षा ७ की नेहा शेरपुञ्जालाई सात हजार ५०० रुपैयाँका दरले छात्रबृत्ती वितरण गरिएको हो ।

साधारणसभाको उद्घाटन गदैं जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले समाजवाद तर्फ उन्मुख देशलार्इँ सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । साधारणसभाको अवसरमा बेनी नगरपालिका ८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले सहकारीले गरिब तथा विपन्न परिवारको जिवन उकास्ने क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताए ।१ हजार ८७ जना सेयर सदस्यको एक करोड ७४ लाख ९०० रुपैयाँ चुक्ता पुँजी, गत आवामा १२ करोड ८० लाख ६५ हजार बचत, ११ करोड ३५ लाख १५ हजार लगानी गरेको सहकारीले जनाएको छ ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता हरिप्रसाद पाइजा र कारोबारकर्ता ङङबहादुर थापालाई सम्मान तथा नयाँ सदस्यहरुलाई सेयर प्रमाणपत्र वितरण गरिएको थियो । साधारण सभाको अवसरमा सहकारी अध्यक्ष बालकृष्ण सुवेदीले ठुला वित्तिय संस्था सरह सहकारीले विभिन्न आधुनिक सुचना र प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सेवा दिइरहेको बताए । उनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने बताए । संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलप्रसाद गौचनको स्वागत र सचिव गणेशप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमा कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठले आर्थिक् प्रतिवेदन प्रस्तुत गरेका थिए ।