धौलागिरिको पचास घरमा होमस्टे

0

धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ । गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघुउद्यम विकास अधिकृत धनमाया किसानले छ वटा बस्तीका ५० घरमा होमस्टे सञ्चालन भएको जानकारी दिनुभयो ।

परियोजनाले होमस्टेसम्बन्धी तालीमका साथै स्थानीय कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ। पर्यटन विकास र आयआर्जनमा सघाउन होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताउनुभयो ।होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए । धौलागिरि, गुर्जा हिमाल आरोहण, धौलागिरि चक्रिय, गुरील्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

मङ्सिरको पहिलो हप्ता मुना, लुलाङ, गुर्जाको भ्रमणमा जानुभएका गैरसरकारी संस्था महासङ्घ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले खाने बस्नेको बन्दोबस्त गर्न विगतको जस्तो समस्या नभएको बताउनुभयो ।होटलको सुविधा नभएको गुर्जामा होमस्टे (घरबास) सेवा शुरु भएपछि बास बस्नका लागि आफन्त र चिने जानेकाको घर खोज्नुपर्ने पाहुनाको बाध्यता हटेको छ ।

अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जाका छवटा घरमा गत वैशाखदेखि होमस्टे सेवा शुरु भएको थियो । हिमाली आमा समूह गुर्जाकी अध्यक्ष सीता छन्त्यालले छ वटा घरमा पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेर ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको जानकारी दिनुभयो । मुनाको गङ्गा होमस्टेकी सञ्चालक गङ्गा पुनले राम्रो आम्दानीको स्रोत बनेको बताउनुभयो । दैनिक रु पाँच हजारसम्म आम्दानी हुने उहाँले बताउनुभयो । होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । रासस