गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगितामा मंगला शिक्षा क्याम्पस सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पर्वतको गुप्तेश्वर बुहुमुखी क्याम्पसलाई पराजित गदैं दोस्रो चरणमा प्रवेश गरेको मंगलाले दोस्रो खेलमा विद्याज्योती मावि पर्वत अनु्पस्थित भएपछि सेमिफाइनलको यात्रा तय गरेको छ ।

आइतबार सम्पन्न विभिन्न खेलमा अर्जुन मावि भकुण्डेलाई पराजित गदैं गलेश्वर मावि, पौलस्त्य माविलाई म्याग्दी बहुमुखी ‘ए’ न्यू वेष्ट पोइन्टलाई प्रकाश मावि, शिवालय मावि पर्वतलाई धौलागिरी क्याम्पस र म्याग्दी बहुमुखी सि समुहलाई हराउँदै माउण्ट आवासीय मावि क्वाटर फाइनलमा प्रवेश गरेको रेफ्री संयोजक तेजेन्द्र बानियाँले बताए । उनका अनुसार सोमबार विहानदेखि क्वाटर फाइनलका खेल सुरु हुनेछन् ।

‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुदका साथै विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ । छात्रतर्फ कुल २४ टिमले सहभागिता जनाएका छन् भने छात्रातर्फ हालसम्म ८ टिमले नामदर्ता गराएको हुँदा सोमबारसम्म नामदर्ता गर्न सकिन्छ ।

विज्ञापन