के भयो तातोपानी कुण्ड व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल ?

0

तातोपानी कुण्डलाई व्यवस्थापनका लागि भाडामा दिने विषयमा आइतबार स्थानीयबासिन्दासँग छलफल सम्पन्न भएको छ । बेनी नगरपालिका तथा वडा कार्यालय, तातोपानी कुण्ड व्यवस्थापन समिति, मोना अन्तर्राष्ट्रिय कार्यकारी समिति (आइईसी) र स्थानीयसँग छलफल गरिएको हो ।

कार्यक्रममा पूर्व सांसद रेशमबहादुर बानियाँले तातोपानी कुण्डलाई नयाँ व्यवस्थापनका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताउँदै संविधान जारी भई सङ्घीयता कार्यान्वयन भैसकेको अवस्थामा अब स्थानीय सरकारले व्यवस्थित बनाएर अघि बढाउनुपर्ने बताए ।बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीय स्रोतसाधनको व्यवस्थापन र सञ्चालनमा सहयोगको आवश्यकता रहेको भन्दै तातोपानी कुण्डलाई थप व्यवस्थित बनाइने बताएका छन्।

मोना आइईसीका संरक्षक योगेन क्षत्रीले तातोपानी कुण्डमा थप पूर्वाधार र संरचनाको विकास गरी कुण्डलाई अगाडि बढाउन तथा कुण्ड आसपासका क्षेत्रमा अन्य भौतिक संरचनाको विकासका लागि आफूहरुले छलफल अगाडि बढाएको बताएका थिए। कार्यक्रममा बेनपा–४, का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, पत्रकार घनश्याम खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।स्थानीयवासीले समेत कुण्डको विषयमा बोलेका थिए ।

स्थानीयले निजी क्षेत्रको कार्ययोजना सहित आउनुपर्ने बताउँदै कुण्डमा रहेका आजिवन सदस्य तथा सहयोगदाताको सहयोगका बारेमा धारणा राखेका थिए । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता र सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनपाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापा, वडा अध्यक्षहरु, स्थानीयवासी, पत्रकारसहितको उपस्थिति रहेको थियो । मोना आइईसीले तातोपानी कुण्डलाई व्यवस्थापनका साथै भाडामा लिएर चलाउने आग्रह गरेसँगै कुण्डका विषयमा सामाजिक सञ्जालसहित पछिल्लो समय सर्वत्र चर्चा भैरहेको छ ।