जिल्लाको पर्यटकीयस्थल घोरेपानीमा अत्याधिक चिसोका कारण खानेपानीको मुहान पानी जम्न थालेको छ । मध्य पुससम्म हिमपात नभएपनि चिसोले घोरेपानी आसपासका क्षेत्रसम्म ल्याउने मुहान देखी खानेपानीको पाइप, धारासम्म जमेपछि खानेपानीको आपुर्तीमा समस्या भएको स्थानीयले बताएका छन् ।

आसपासका क्षेत्रमा रहेका साना खोलामा बगेको पानी चट्टान जस्तै साह्रो बनेको घोरेपानी टोलसुधार समितिका अध्यक्ष विरेन पुनले बेनीअनलाइनलाई बताए ।‘खानेपानीको समस्या भएको छ,‘आगो बालेर पानी पगाल्नुपर्छ’ पुनले भने । उनका अनुसार दरीको खोला आसपासका क्षेत्रमा ल्याइएको पानी पाइपमै जमेपछि स्थानीयले आगोले पगाल्ने प्रयास गरेपनि अत्याधिक चिसोले समस्या भएको बताए। 

अफ सिजन भएपनि क्रिसमस र अंग्रेजी बर्षको अवसरमा आउने पर्यटकलाई पिउनको लागि हिउँ पगाल्नु परेको बताउँदै मिनिरल वाटरको ब्यवस्था गरिएको पर्यटन ब्यवसायीको भनाई छ। दिउँसोको समयमा आपुर्तीको प्रयास भएपनि साझ र विहान हिउँ जम्मे भएकाले समस्या भएको बताउँदै नियमित खानेपानी आपुर्ती वा बैकिल्पक ब्यवस्था गर्नुपर्ने अवस्था आएको ब्यवसायीको भनाई छ ।

घोरेपानी आसपासमा पाइपभित्र पानी जमेकाले धारा बन्द समेत भएको थियो । यसबर्ष जाडो बढेको स्थानीयको भनाई छ । घोरेपानीमा माइनस डिग्री सेल्सियसको हाराहारीमा झर्ने गरेको छ । घाम लागेको बेला अलिअलि तापक्रम बढ्दा स्थानीय र पर्यटकलाई राहत हुने गरेको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन गर्ने गरिन्छ । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोरेपानी एक सुन्दर गन्तब्य हो ।