गण्डकी प्रदेशस्तरीय भलिबल: माउण्ट एभरेष्ट र धौलागिरी क्याम्पस फाइनलमा प्रवेश

0

गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्र भलिबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि र धौलागिरी बहुमुखी क्याम्पस बागलुङ फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको प्रतियोगितामा गलेश्वर माविलाई २ का विरुद्ध ३ सेट जित्दै माउण्टले फाइनलको यात्रा तय गरेको थियो ।निकै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरका खेलाडी चुक्दा माउण्टले जोखिम मोलेर अवसरको सदुपयोग गरेको थियो ।

त्यस्तै अर्का खेलमा मंगला शिक्षा क्याम्पसलाई सोझो सेटमा धौलागिरी बहुमुखी क्याम्पसले पराजित गरेको थियो ।प्रतियोगितामा एक समुह अनुपस्थित तथा अर्को खेलमा राम्रो प्रर्दशन गरी प्रतियोगितामै सेमिफाइनलमा पुगेको मंगलाले फाइनलको यात्रा तय गर्न समेत असफल भएको छ । प्रतियोगितामा निकै उत्कृष्ट खेल प्रर्दशन गरेका माउण्ट र धौलागिरी क्याम्पसका खेलाडीको बुधबार फाइनल खेल हुने रेफ्री संयोजक तेजेन्द्र बानियाँले बताए ।

‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । क्याम्पसको २८औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुदका साथै विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको थियो । यछात्रतर्फ कुल २४ टिमले सहभागिता जनाएका थिए । यसैबीच मंगलबारदेखी छात्रा भलिबल खेल सुरु हुने छ । प्रतियोगिताको अवसरमा सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।