गाउँमै जेष्ठ नागरिकले परिचयपत्र पाएपछि भने,‘अब उपचार र यातायातमा छुट पाइन्छ‘

0

परिचयपत्रको अभावमा सास्ती खेप्नुपरेका मालिका गाउँपालिकाका जेष्ठ नागरिकले गाउँघरमै परिचयपत्र पाउन थालेपछि उत्साहित भएका छन् । गाउँपालिकाले अभियानकै रुपमा घुम्ती शिविर सञ्चालन गरी हरेक वडामा परिचयपत्र वितरण गर्न थालेपछि बृद्धबृद्धाको घुईचो लाग्ने गरेको छ ।

गाउँपालिकाले सोमबार वडा न. ५ देविस्थानमा आयोजना गरेको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए ।

अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्ष पिपला बुढाथोकी, कार्यपालिका सदस्य गौमती चपाई, स्वास्थ्य शाखाका प्रमुख राजेश थापा, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तिलक गौतम लगायतको टोलीले सेवा दिएका थिए ।परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ ।टोलीले २०० जनालाई स्वास्थ्य परिक्षण, परामर्श तथा औषधी वितरण सेवा दिएको जनाएको छ ।

अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले यसअघि वडा न. १ निस्कोट, २. वडा रुम, ३ न. वडा डाडागाउँ र ४ न. वडा ओखरबोटमा परिचयपत्र वितरण गरिसकेको छ । ७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने मालिका गाउँपालिकाले जनाएको छ ।