सफल अभिभावकीय कला सिकाउँदै माउण्ट

0

सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा सफल अभिभावकीय कलासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सफल अभिभावक बन्नका लागि विभिन्न कला सिकाउने उद्देश्यसहित दुई दिनसम्म अभिभावकलाई प्रशिक्षण गरिएको छ ।

सफल अभिभावकले छोराछोरीको शैक्षिक गतिविधि तथा विद्यालयको गतिविधिमा समेत सघाउने बताइएको थियो । कार्यक्रममा माउण्ट एभरेष्ट फाउण्डेशन प्रालिका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसी, सदस्य किरण सापकोटा, राजु केसी, प्रिन्सिपल डाक्टर त्रिदेव उपाध्याय र भाइस प्रिन्सिपल अमृत सापकोटाले सफल अभिभावक बन्न सक्ने विभिन्न कलाको विषयमा सहजीकरण गरेका थिए ।

विभिन्न तीन चरणमा सञ्चालित कार्यक्रममा करिब ९ सयजना अभिभावकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अभिभावकीय कला, बालबालिकाको हेरचाह तथा सिकाई लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । ‘गुणस्तरीय शिक्षाका लागी निरन्तर अभियानमुखी कार्यक्रमलाई प्राथमिकता दिएका छौ,‘हरेक गतिविधिमा अभिभावकको सहभागिता हुन्छ’ प्रिन्सिपल उपाध्यायले भने । उनका अनुसार शैक्षिक, ब्यवहारिक ज्ञान सहित अतिरिक्त क्रियाकलापलाई १ महिने अभियानको रुपमा प्रयोग गर्ने गरिएको बताए ।

नर्सरी–मन्टेश्वरीदेखि कक्षा १, प्राइमरी र कक्षा ९ देखि ९ सम्म तीनवटा समूहमा अभिभावकलाई प्रशिक्षण दिइएको बताइएको छ। कार्यक्रममा कक्षा ६–९ का कक्षागत अभिभावक समितिलाई सम्मान समेत गरिएको थियो । विद्यालयका सञ्चालहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालक समिति सदस्य राजु केसीले सञ्चालन गरेका थिए । विद्यालयले विभिन्न समयमा विद्यार्थी र अभिभावकलाई लक्षित गरेर कार्यक्रमहरु गर्दै आइरहेको छ ।