पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीको बगर तथा ६ मराङको बुलमा गाउँघर क्लिनीक भवन निर्माण भएको छ। गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाको सहयोगमा भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको हो ।

परियोजनाको नौलाख २९ हजार, गाँउपालिकाको एकलाख र स्थानीय समुदाय, आमा समूह र युवा क्लबबाट चारलाख ७४ हजार एकसय ५० गरी कुल एक करोड ५० लाख ३१ हजार १५० रुपैयाँ लगानी गरिएको परियोजनाले जनाएको छ । त्यस्तै मराङको बुलमा परियोजनाबाट दशलाख ५० हजार ४८३ रुपैयाँ र स्थानीयको चारलाख ८८ हजार ८७१ रुपैयाँसहित कुल १५ लाख ३९ हजार ३५४ लागतमा शौचालयसहितको भवन निर्माण गरिएको हो ।

भौगोलिक रुपमा विकट र स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेको समुदायले नियमित खोप सेवा, गर्भ जाँच सेवा, सुत्केरी सेवालगायत साधारण स्वास्थ्य सेवाको लागि मुदीको बगरबाट ७ घण्टाको पैदलयात्रा गरेर मुदी स्वास्थ्यचौकीबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो । यसैगरी मराङको बुलबाट ४ घण्टाको पैदलयात्रा गरेर मराङ स्वास्थ्यचौकीबाट सेवा लिनुपर्दथ्यो । भौगोलिक हिसाबले विकट स्थानमा पुगेर स्वास्थ्य सेवा लिनुपर्दा अधिकांश बालबालिकाको नियमित खोप सेवा प्रभावित हुने, गर्भवती महिलाले नियमित गर्भ जाँच गर्न नपाउँदा गर्भावस्थामा आउन सक्ने खतराहरु बहन गर्नुपर्ने र समयमै स्वास्थ्य सेवा लिन नपाउने जस्ता समस्याहरु रहेका थिए ।

समुदायले आवश्यकताको महशुस गरी भवनको माग भएपछि मुदी बगरमा राउण्ड धौलागिरी युवा क्लबको सक्रियतामा आवश्यक जग्गा खरिद गरिएको थियो । भवन निर्माण भएपछि मुदी बगरका स्थानीय बासिन्दासँगै धौलागिरी पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा सेवा पुगेको छ भने बुलबाट बुलको समुदाय, मल्कबाङको मलम्पार र रेलेको समुदायलाई सेवा पुगेको छ ।

समुदायमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि परियोजना र गाँउपालिकाको सहकार्यमा सञ्चालन गरिएको क्रियाकलापहरु उदाहरणीय भएको बताउँदै गाँउघर क्लिनीक भवनबाट प्रदान गरिने सेवालाई विस्तार गरिने हुँदा आगामी माघ महिनाभित्र गाउँपालिकाबाट नियमित रुपमा कर्मचारीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिने योजना रहेको धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

मुदी स्वास्थ्यचौकी र बगर गाउँघर क्लिनीकमा एकलाख रुपैयाँको कार्यालय व्यवस्थापनका सामग्रीहरु र दुईलाखको औजार तथा उपकरणहरु सहयोग गरिएको कदम म्याग्दीका जनस्वास्थ्य सहायक निरमाया मिजारले बताइन् । साथै परियोजनाको कार्यक्षेत्र भित्र रहेका गूर्जा, लुलाङ, मुना, मुदी र मराङमा रहेका सबै स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाइबाट प्रदान गरिने सेवामा सहजता ल्याउनका लागि आवश्यकताको पहिचान गरी स्वास्थ्य संस्थाको माग र गाउँपालिकाको सिफारिसको आधारमा औजार तथा उपकरणहरु उपलब्ध गराइएको छ ।