निर्माण ब्यवसायी संघ म्याग्दीको १० औ अधिवेशन तथा १८ साधारणसभा आगामी माघ ५ गते हुने भएको छ । कार्यसमिति भित्रै तथा पूर्व अध्यक्षको विवाद चरम उत्र्कषणमा पुगेपछि दुई खेमामा विभाजन भएका व्यवसायीबीच गत पुसको ३ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निर्वतमान अध्यक्ष अमर बानियाँ र अध्यक्ष नारायण जिसीको संयोजकतत्वमा भेला बेलाउने निर्णय अनुसार मंगलबार आयोजित भेलाले वर्तमान कार्यसमितिलाई नै अधिवेशनको म्यान्डेड दिएको संघका सल्लाहकार सन्तोष रावलले बताए ।

‘अधिवेशन गर्ने जिम्मा कार्यसमितिलाई नै दिएको छ,‘केही महत्वपूर्ण निर्णय समेत भएका छन’ रावलले भने । उनका अनुसार ८२ जना सदस्य रहेको संघमा ७२ जनाको उपस्थिती रहेकोमा ११ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेको बताए । उनले संघमा आवद्ध दुईतिहाई भन्दा धेरैले अधिवेशन गर्ने अधिकार वर्तमान कार्यसमितिको बताएपछि अधिवेशनको मिति तोकिएको बताए । भेलामा वर्तमान कार्यसमितिलाई गैरकानुनी भन्दै तदर्थ समिति गठन गरेको अमर बानियाँ नेतृत्वको टोलीको समेत सहभागिता रहेको थियो । निर्माण ब्यवसायी एक भएर अगाडी बढ्नुपर्ने अवस्थामा विवादमा उत्रिर्नु दुखद भएको बताउँदै सहकार्यमा जोड दिएका थिए ।

भेलाले विधान संसोधन गर्ने गरी सल्लाहकार सन्तोष राबलको संयोजकत्वमा मनप्रसाद कँडेल, बीरबहादुर थापा, अमर बानियाँ, नेत्र बहादुर महत, अधिवक्ता सागर जिवि उपाध्याय, धुव्रराज शर्मा सदस्य रहेको समिति समेत बनाएको संघका सदस्य रबी केसीले बताए । ‘भेलाको म्यान्डेड नै अदालतको फैसला अनुसार छ,‘संघलाई विभाजन गरेर अगाडी बढ्न खोज्ने प्रयासलाई भेलाबाट अस्वीकृत गरिएको छ’ केसीले भने । भेलामा फरक मत राख्नेलाई समेत सहकार्य गरी अगाडी बढ्न अनुरोध गरिएको उनले बताए । यसैबीच भेलाको सहमति अनुसार नै अधिवेशनको तयारीमा जुटेका छन् ।

सदस्यको म्यान्डेड पुरा गर्छुः जिसी
ब्यवसायीको भेलाले आफ्नो नेतृत्वमा अधिवेशन गर्ने म्यान्डेड दिएकाले अधिवेनलाई सभ्य र भब्य बनाउने अध्यक्ष जिसीले बताए । उनले योजनाबद्ध रुपमै संघलाई ध्वस्त बनाउने प्रयास गरिएपनि सदस्यले असफल बनाएको दावी गरे ।

‘मैले संघको गरिमालाई सधै उच्च राखेर काम गरेको छु,‘एउटा समुहको संस्था नभई सबै निर्माण ब्यवसायीको समिति बनाएको छु’ जिसीले बेनीअनलाइनलाई भने । उनले भेलापछि अधिवेशन तोक्दा समेत असन्तुष्ट समुहलाई सहमति र सहकार्यको प्रयास गरिएपनि सफल नभएको बताउँदै दुईतिहाई सदस्यको सहमति अनुसार अगाडी बढेको बताए । उनले अधिवेशनमा केन्द्रिय अध्यक्ष सहितको टोलीको उपस्थिती हुने बताए ।

कसरी भएको थियो विवाद
अदालतको फैसला अनुसार जिसीको कार्यसमिति अवैध भएको भन्दै निर्वतमान अध्यक्ष बानियाँको अध्यक्षतामा तदर्थ समिति बनाएपछि निर्माण ब्यवसायीको विवाद सडकमै आएको थियो । कार्यालय, चियापसल, प्रशासन देखी अदालतसम्म आफ्नै ब्याख्या गदैं विवादमा उत्रिएका ब्यवसायीलाई प्रजिअ लीलाधर अधिकारी समेतको उपस्थितीमा भएका विभिन्न छलफलपछि विवाद केही साम्य भएपनि आफ्नो तर्क अनुसार नै अगाडी बढ्ने निर्णय गरेका थिए ।

बानियाँको संयोजकत्वमा बनेको समितिमा एकेन्द्र रावल, नेत्रबहादुर महत, कृष्णकुमार शेरचन थिए । संकटमा परेको संघलाई सहि दिशा दिएर सवै व्यवसायीको साझा चौतरी निर्माण गर्न आफु जुटेको बानियाँको भनाई थियो । संस्थापन पक्षले भने निर्वतमान अध्यक्ष अमर बानियाँको नेतृत्वमा भएको निर्माण ब्यवासायीको भेला अवैध रहेको दावी गदैं आएको थियो । असन्तुष्ट पक्षले गत असोजमा सम्पन्न राष्ट्रिय अधिवेसनमा जाने प्रतिनिधी छनौटमा धाँदली भएको र बर्तमान समिति विधानत अवैध भएको भन्दै पूर्व अध्यक्ष कृष्णकुमार शेरचन र वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले उच्च अदालत बाग्लुङ्गमा रिट हालेपछि विवाद सतहमा आएको हो।

जिसी नेतृत्वको निर्माण ब्यवसायी संघको कार्यकाल विधानत ०७४ जेठ २८ गते समाप्त भएकोले अहिले कुनै निर्माण ब्यवसायी संघ अस्तित्वमा नभएको दावी गरेपनि प्रशासनमा भएको छलफलमा भेलाको निर्णय अनुसार अगाडी बढ्न दुवैलाई सहमत बनाइएको थियो । उच्च अदालत बाग्लुङ्गले ०७५ मंसिर ४ गते विपक्षी निर्माण ब्यवसायी संघलाई विधानतः कार्यासमितिको कार्यकाल समाप्त भएकोले यथासिघ्र साधारण सदस्यहरुको भेलागरी सदस्यहरु मध्यबाट कार्यसमितिको निर्वाचन गर्नु भन्ने आदेश भएपछि असन्तुष्ट पक्ष थप सक्रिय भएका थिए ।

नोट अफ डिसेन्टमा को–को सहभागी भए
सहमतिमै भएको भेलामा नोट अफ डिसेन्टमा पूर्व अध्यक्ष कृष्णकुमार शेरचन, गोपाल भटचन, नरसिंह बहादुर खत्री,विनोद भटचन,डोलेन्द्र फगामी, प्रदिप सापकोटा, मुकुन्द्र सुबेदी, प्रविण सापकोटा, पुर्ण बहादुर बानियाँ, कृष्ण विक, इन्द्र बहादुर मगर र कमल ढुंगाना रहेका छन् । भेलापछिको निर्णयमा असहमति जनाएर फर्किएको टोलीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।