गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधी माउण्ट एभरेष्टलाई

गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्र भलिबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुद प्रतियोगिता अन्तरगत आयोजित भलिबल खेलको मंगलबार सम्पन्न फाइनल खेलमा धौलागिरी बहुमुखी क्याम्पस बागलुङसंगको कडा प्रतिस्पर्धामा अन्तिम सेटमा १० का विरुद्ध १५ अंक बटुल्दै माउण्टले उपाधी जितेको हो ।

प्रतियोगितामा दुवै समुहले २–२ सेट हात पारेपनि अन्तिम सेटमा धौलागिरीका खेलाडी चुक्दा माउण्टका खेलाडीले जोखिम मोलेर अन्तिम समयमा सम्हालिदाँ उपाधी आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । खचाखच दर्शकको उपस्थितीमा भएको खेलका विजेता, उपविजेता सहित विभिन्न विधाका पुरस्कार बुधबार बार्षिकोत्सवको अवसरमा वितरण गरिने छ ।‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिए ।

यसैबीच छात्रा भलिबल प्रतियोगितामा बेनीस्थित वेष्ट पोइन्ट आवासीय माविलाई सेमिफाइनलमा हराउँदै टप्स मावि पोखरा र म्याग्दी बहुमुखी क्याम्पसलाई पराजित गदैं माउण्ट एभरेष्ट आवासीय मावि फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा छात्रा तर्फ ७ टिमको सहभागिता रहेको थियो । गत बुधबारदेखि सुरु भएको सप्ताहव्यापी खेलकुदलगायत प्रतियोगिता अन्तर्गत यसअघि गजल, निबन्ध, निवेदन, तमसुकलेखन, टेबुलटेनिस र बुद्धिचाल प्रतियोगिता सम्पन्न भैसकेका छन् । बुधबार क्याम्पसको २८औं वार्षिकोत्सव राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा मनाइने सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताए ।