गण्डकी प्रदेशस्तरीय छात्रा भलिबलको उपाधि टप्स मावि कास्कीलाई

म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित प्रथम गण्डकी प्रदेशस्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स माविले हात पारेको छ । बुधबार विहान सम्पन्न भएको खेलमा बेनीको माउण्ट एभरेष्ट आवासीय माविलाई १ का विरुद्ध ३ सेट हात पादैं टप्सले उपाधी जितेको हो । निकै प्रतिस्पर्धा मानिएको खेलमा टप्सले लगातार आफ्नो पक्षमा नतिजा पारेको थियो । छात्र भलिबल विजेता माउण्टले छात्रा समेत आफ्नो पक्षमा पार्ने प्रयास गरेपनि सफल हुन सकेनन् । छात्रा तर्फ ७ टिमको सहभागिता रहेको थियो ।

विजेतालाई क्याम्पसको २८औं वार्षिकोत्सवको अवसर पारेर पुरस्कार वितरण गरिने छ । यसैबीच मंगलबार नै सम्पन्न भएको छात्र भलिबल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट आवासीय माविले हात पारेको थियो ।क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको फाइनल खेलमा माउण्टले धौलागिरी बहुमुखी क्याम्पस बागलुङलाई पराजित गरी उपाधि चुम्न सफल भएको थियो ।

उपाधि जितेसँगै विजेता माउण्ट एभरेष्ट आमाविले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता धौलागिरी बहुमुखी क्याम्पस बागलुङले २५ हजार, मेडल र प्रमाणपत्र पाउने भएका छन् । सेमीफाइनलबाट बाहिरिएका छात्र तथा छात्रा टिमलाई नगद आठ–आठहजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । गत १४ गतेदेखि सुरु भएको थियो । म्याग्दी बहुमुखी आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिता तथा विविध कार्यक्रमहरुको पुरस्कार बुधबार क्याम्पसमा आयोजित समारोहमा वितरण गरिने छ । कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको प्रमुख आतिथ्यमा हुने छ ।