राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको बुधबार बेनीमा २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालले प्रतिस्पर्धा गर्न नसकेको बताउँदै अब विकसित मुलुकको शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नेगरी शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले आज हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउँदै विकसित मुलुकका विश्वविद्यालयबाट उत्पादित जनशक्तिहरुसँग प्रतिस्पर्धा गर्नसक्ने खालको शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले नेपालको शिक्षामा समस्या रहेकाले विगतमा उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा बिकाउ हुन नसकेको बताउनुभएको छ । उहाँले अबको शिक्षा गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक हुनुपर्ने भन्दै आधुनिक प्रविधिको प्रयोग गरेर व्यवहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा नीतिमा समेत परिमार्जन गर्न जरुरी रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा सांसद भूपेन्द्रबहादुर थापाले देश विकासको पहिलो खुड्किलो शिक्षा भएको बताउँदै सबै नागरिकलाई शिक्षा दिनका लागि सरकार जिम्मेवार रहेको बताउनुभयो । गण्डकी प्रदेशका सदस्य विनोद केसीले प्रदेश सरकारबाट विनियोजन हुने बजेटमा क्याम्पसको विकासका लागि सहयोग गरिने जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा क्याम्पसमा स्थापना गरिएका छात्रवृत्ति कोषबाट गरिब तथा विपन्न विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै सप्ताहव्यापी विविध खेलकुद एवं कार्यक्रमहरुको पुरस्कार वितरण पनि गरिएको थियो ।

कार्यक्रममा पूर्व सभासद गोविन्द पौडेल, नेपाली कांग्रेस जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दीका निमित्त प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, म्याग्दी क्याम्पसका संस्थापक डाक्टर भूपेन्द्रबहादुर खड्का, बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, क्याम्पस अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, प्राध्यापक संघका प्रतिनिधि भोलानाथ घिमिरे र स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक सभापति ईश्वर सुवेदीले मन्तव्य राखेका थिए । म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।